सर्लाही समाचारदाता
सर्लाही, जेठ ११ गते । व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानले उत्पादन बढाउन आफूखुसी कीटनाशक विषादी प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
पछिल्लो समय सर्लाहीमा उत्पादन भएको बोडी काठमाडौँको बल्खु तरकारी बजारमा परीक्षण गर्दा बारम्बार विषादीको अत्यधिक मात्रा पाइएको छ । लालबन्दी तरकारी बजारमै रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ लालबन्दीमा पनि जेठ १ गते बोडीमा विषादीको मात्रा परीक्षण गर्दा एक जना व्यापारीले ईश्वरपुर नगरपालिका–४, सागरनाथका किसानसँग खरिद गरेको मिटर बोडीमा ६०.३०४ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको अवशेष पाइएको थियो । अत्यधिक विषादी भेटिएपछि ६७ किलोग्राम बोडी नष्ट गरिएको थियो । त्यसपछि पनि परीक्षण गर्दा बारम्बार बोडीमा अत्यधिक विषादीको मात्रा फेला परिरहेको छ ।
तरकारी उत्पादन गरेर ल्याउने किसानले किटनाशक विषादी प्रयोग नगरी तरकारी फलाउनै नसक्ने अवस्था रहेको र के कति मात्रामा विषादी प्रयोग गर्ने भनी आफूहरूसँग ज्ञान पनि नरहेको बताएका छन् । २०५२ सालदेखि तरकारी खेती गर्दै आएका लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान रमेश भुजेलले विषादी नहाली तरकारीमा रोग, किराको प्रकोप लागि हाल्ने र त्यस्तो तरकारी बिक्री गर्नै समस्या पर्ने बताउनुहुन्छ । विषादी अत्यधिक हालेपछि हेर्दा राम्रो देखिने सर्लक्क परेको तरकारी हुने र उपभोक्ताले पनि त्यस्तै तरकारी रुचाउने उहाँको अनुभव छ । “विषादी नहाले त तरकारी फल्दै फल्दैन, किन्ने मान्छेले पनि सर्लक्क र हेर्दा चिटिक्क परेको तरकारी किन्छन्,” उहाँले भन्नुभयो, “त्यस्तो तरकारी फलाउन त दिनैपिच्छे विषादी छिट्नै प¥यो ।”
बजारमा तरकारी बिक्री गर्न ल्याउने अधिकांश किसानले तरकारीमा विषादीको प्रयोग कसरी गर्ने भन्ने विषयमा ज्ञान नरहेको बताउने गरेका छन् । बजारका एग्रोभेटबाट विषादी लगेर दिनैपिच्छे जसो विषादी छिट्दै आएको किसानको भनाइ छ । लालबन्दी थोक तरकारी बजारको अध्यक्षसमेत रहेका किसान प्रमोद थपलियाले विषादीको जथाभाबी प्रयोग रोक्न कतैबाट पहल नहुँदा दिनानुदिन भयावह रूपमा विषादी हालेर तरकारी फलाउने क्रम चलिरहेको बताउनुभयो । काठमाडौँको बल्खु र लालबन्दी बजारमै रहेको प्रयोगशालामा परीक्षण गर्दा बोडीमा उपभोग अयोग्य हुने गरी विषादीको भएको पाइएपछि जनप्रतिनिधि, स्थानीय एग्रोभेट सञ्चालक, कृषि प्राविधिक, व्यापारी, किसानलगायत सबै सरोकारवालालाई राखेर छलफल गरिएको उहाँले बताउनुभयो ।
आफूखुसी विषादी प्रयोग गरेर हतार हतार बजारमा ल्याएर विषादी हालेकै दिनको तरकारी बेच्ने गरेको पाइएको थपलियाको भनाइ छ । “तत्कालै बिक्री नगरे तरकारी ओइलाउने र किरा लाग्ने चिन्ता किसानमा छ, त्यसैले तरकारी हालेकै दिन पनि तरकारी बजारमा ल्याएर बिक्री गर्ने किसान धेरै छन्,” उहाँले भन्नुभयो । विषादीको आफूखुसी प्रयोग रोक्न सरकारले नै सचेतना जगाउने र विशेष किमिसको नीति ल्याउन आवश्यक रहेको उहाँको धारणा छ ।
केन्द्रीय कृषि प्रयोगशालाले लालबन्दी बजारमा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा दैनिक १० जना किसानले बेच्ने ल्याउने तरकारीको नमुनाका रूपमा विषादी परीक्षण भइरहेको छ । जेठ १ गते अत्यधिक विषादी फेला परेपछि व्यापारीले खरिद गरिसकेको तरकारी नष्ट गरेको भन्दै व्यापारीले विरोध जनाएका थिए । त्यसको भोलिपल्ट व्यापारीले किसानबाट तरकारी नै खरिद नगर्ने अवस्था सिर्जना भएको थियो । व्यावसायिक रूपमा आफैँ तरकारी फलाएर बिक्री गर्दै आउनुभएको लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले किसानले विषादीको प्रयोग बढाउँदै लगेको र यसको नियन्त्रण गर्न नसकिरहेको स्विकार्नुभएको छ ।