• १० जेठ २०८२, शनिबार

थारू विवाहमा भित्रिँदै आधुनिकता

blog

तस्बिर : कुलदीप न्यौपाने

नेपालको चौथो ठुलो भाषिक समुदाय रहेको थारूको विवाह माघ र फागुनमा गर्ने प्रचलन थियो । तथापि विवाहका लागि आजकाल यही महिना हुनु पर्छ भन्ने छैन । थारू समुदायमा वैशाखमा पनि विवाहको बाजा घन्किन थालेको छ । 

थारू समुदायमा प्रायः मागी विवाह प्रचलनमा छ । त्यस्तै झाँगा, घरबैठी, उह्ररी, विधवा विवाह आदि पनि प्रचलनमा रहेको छ । थारू समाजमा महिलाको स्थान उच्च मानिने हुनाले दुलही प्राप्तिका लागि दुलहीको घरमा दुलहा पक्षका मानिसले फकाउने फुलाउने गर्छन् । त्यसैले थारूमा उखान छ, ‘जेकर दुलहीक चाह बा, उ लडिया पौंह्रके जैबे करी’ अर्थात् ‘जसको बेहुलीको चाहना हुन्छ, उ नदी तरेर पार गरी जान्छ ।’ यद्यपि हालका दिनमा केटी दिन जाने चलन बढेको छ । 

खोज्नी बोज्नी

केटा पक्षबाट केटी पक्षका अभिभावकसँग विवाहको कुरा चलाइन्छ । कुरो मिलेमा दुवै पक्षका आमाबुबाको राजीखुसीमा गरिने विवाह नै मागी विवाह हो । केटा पक्षबाट केटी पक्षमा कुरो मिलाउने लमी व्यक्तिलाई अगुवा भनिन्छ । वधू खोज्ने काम प्रायः माघ महिनामा गरिन्छ । वरको बुवा एक जना घनिष्ट सङ्लग्वा (साथी) सँग पूर्वजानकारीका आधारमा वधूको खोजीमा निस्कन्छन्, जुन प्रक्रियालाई ‘खोज्नी बोज्नी’ भनिन्छ (थारू, २०६९:९) । दुवैको काँधमा कम्बल, हातमा चिरैह्याँ टेक्नी, (चरा, सर्प आदि कुदिएको कलात्मक लट्ठी) हुन्छ । पूर्वजानकारी अनुसार आफ्नो कबिला (इष्टमित्र) को घरमा गएर निजमार्फत आफ्नो इच्छा जाहेर गर्छन् । 

विवाहको कुरो मिलेपछि टीकाटालो गरिने बिधिलाई ‘ठोकठाक खैना’ भनिन्छ । ठोकौनीपछि विवाहको दिन, तिथिमिति निश्चित गर्न वधू पक्षकहाँ जान्छन्, जसलाई ठेकान पर्ना वा करै पिना भनिन्छ । विवाहको दिन प्रायः बुधबार नै शुभ मानिन्छ । विवाहको निम्तो गर्दा हुनेखाने परिवारका थारूहरूबाट सुपारी र गरिब घरपरिवारका थारूहरूबाट हर्डिक गाँठ (हलेदोको टुक्रा) बाँड्ने प्रचलन थियो । हाल आएर अनिवार्य कार्ड बाँडिन्छ । विवाह कार्ड थारू भाषामा नभई नेपालीकरण नै बढी देखिन्छ । 

डिउली डर्ना

मुख्य विवाहको अघिल्लो दिन वर पक्षबाट डेलवामा वधू पक्षकहाँ चामल लगिन्छ, जसलाई चाउर पर्छना भनिन्छ । यही चामल वधु पक्षले आफ्नो घरको चामलमा मिसाई वरका लागि टीका बनाउँछन् । विवाहको पहिलो दिनलाई ‘डिउली डर्ना’ भनिन्छ । त्यो दिन बेलुकी दुलहा, दुलही दुवै घरका महिला जाँतोमा दाल पिस्छन् । झलारी (स्वयम्सेवक) हरू माँगर (मङ्गल गीत) गाउँछन् । डिउली कर्मको रातभरी घरमूलीले डेहुरार कुलदेवताकहाँ कलशमा दियो बाल्छन् । 

बिहान डिउली धुन लागि नदी घाटमा लगिन्छ । भोजिन्या (दुलहादुलहीकी भाउजू) र नेंढ¥या (दुलहादुलहीकी बहिनी र साथी) हरू नुहाएर लोटामा जल, दियो आदि लिएर घर फर्किन्छन् । नेंढ¥या वा अन्य सहयोगी कचरीको बरिया (मासको दाल मिसाइएको रोटीझैँ परिकार) पकाउन धोएको डिउली अर्थात् मासको दाल कुट्न जान्छन् । घरगुरुवाले कचरीको बरिया पकाउन तयार गरिएको विशेष चुलामा तामाको भाँडो भजनी बसाली त्यसमा तेल राखेर मन्त्रले साध्छन् । यसरी मन्त्रले साध्नुलाई टाइ बैठैना भनिन्छ (थारू, २०६९ः ९) ।

जन्ती प्रस्थान

दोस्रो दिनलाई बरात जैना/अइना (जन्ती जाने/आउने) दिन भनिन्छ । दुलहातर्फ जन्तीका लागि केही झलारीहरू डोला तयार पार्छन् । दुलहा  सैभलवा (दुलहाको भाइ) सँग कपाल कटाएर केही साथीलाई लिई नदीमा नुहाउन जान्छन् । यसका साथै बर्छि (तिखो फलामको डन्डा) मा झुन्ड्याउनका लागि माछा मारेर ल्याउने चलन छ । खाना खाइसकेपछि दुलहालाई पोसाक लगाउनुपूर्व गुरुबाबाट डेलवामा राखेको मन्त्र जपेर कपडा साज्ने कार्य गरिन्छ । दुलहालाई पोसाक लगाउँदा पनि झलारीहरूले माँगर गाउने चलन छ । 

हरे डेओ डेओ मायर मोर मठ शिर पगिया

मै चली जैबुँ ढनि र बिहाए

यसरी पगियाझैँ हरेक लुगाफाटा (फेँटा), जामा आदि कपडा वा वस्तु लगाउने क्रममा सोही अनुसार गीत गाएर दुलहालाई तयार पारिन्छ । कपडा लगाइसकेपछि कुलदेवतालई छाँकी र कचरीको बरिया चढाइन्छ । सोही परिकार प्रसादका रूपमा दुलहा र सैभलवालाई खान दिइन्छ । घरबाट जन्ती निस्कँदा डेहुरार (देउता कोठा) बाट दुलहाले सिकवा बरहीसहितको बर्छी बोकेर घरको केही टाढा पुग्दा सैभलवा र दुलहालाई खाजा खुवाउन पश्चिम पूर्वको दिशामा बसाली दुनामा रक्सी र कचरीको बरिया खान दिइन्छ । बाँकी रहेको कचरीको बरियालाई गाउँले तथा जन्तीलाई बाँडिन्छ । 

जब जन्ती दुलहीको गाउँको सिमानामा पुग्छन्, तब जन्तीलाई लिन दुलही पक्षबाट केही मानिस जान्छन् । जन्ती गाउँमा प्रवेश गर्दा पनि दुलहा पक्षका मानिस माँगर गाउनु पर्छ । माँगर गाउँदै जन्ती दुलहीको घर पुग्दा जन्तीलाई सत्कारसाथ बस्न दिइन्छ । यसपछि दुलहाका सालीहरू दुलहा र सैभलवालगायतको गोडा धुने गर्छन् । दुलहा र भोजवा (दुलहाका अभिभावक) लाई डेहुरार कुल देवताकहाँ बर्छी गाड्न लगिन्छ । सम्धीबिच घनिष्टता बढोस् भनेर सम्धीसम्धा क्रियाकलाप गरिन्छ । जस अन्तर्गत एउटा भाँडामा चामल राखी त्यसमा पैसा लुकाई जुन सम्धीले बढी पैसा फेला पार्छ, उसले जितेको मानिन्छ । गीतमा भने दुलहा पक्षलाई नै जितेको देखाइन्छ । यो क्रियाकलाप गराउँदा दुवै सम्धीलाई लेहङ्गा, हेल्का ओढाई डोरीले बाँध्ने, कहिले फुकाउने गरी हाँसोसमेत गरिन्छ । दुलहा पक्षले जितेको माँगर यसरी गाइन्छ–

हरे डोनिया ढरक गैल, मडिया छलक गैल

डुनहु समढिया जुव पासा खेलल

हरे केकर बाबा जुवा पासा जिटल

केकर बाबा जुवा पासा हारल

हरे डुलहक बाबा जुवा पासा जिटल

डुलहीक बाबा जुवा पासा हारल (थारू, २०६९: १०)

सम्धीसम्धा गरिसकेपछि जन्तीलाई खाना खुवाइन्छ । दुलहाले सुरुवात नगरेसम्म अरूले खान नहुने भनाइ छ । दुलहीको बुवा आएर काँसको थालमा, काँसकै लोटाले हात धोइदिनुका साथै फेँटामा आफ्नो गच्छे अनुसारको पैसा राख्ने प्रचलन छ । यही समयमा दुलहाले केही चिज माग्छ, कुरो मिलेपछि मात्र खाना खान्छ । जन्तीहरू क्याम्पा (जन्ती बस्नका लागि खर वा स्याउलाले घेरेर बनाएको टहरा) मा बसेर जाँडरक्सी खाएर रातभरि नाचगान गरी रमाइलो गर्छन् । अब परम्परागत क्याम्पाको सट्टा आधुनिक टेन्टले स्थान पाउन थालेको छ । 

बिहान जन्तीलाई नास्ता खुवाई बर्छी लिनलाई दुलहालगायत दुलहा पक्षका केही मानिस डेहुरार जान्छन् । आफ्नो माग अनुसार पैसा नदिए बर्छी उखेल्न नदिने भनेर दुलहाको सालीले बर्र्छी समातेकी हुन्छे । उता घरबाहिर जन्तीहरू दुलहीलाई निकाल्नुप¥यो भनेर माँगर गाउँछन्– 

ठाह्रि रहो प्रभु ठाकुर आउ प्रभु ठाकुर रे हाँ, 

कहाँ लग मिलबे रि ढनिया कहाँ लग भेँटबे रे ना 

हमार घर बटाँ रे उट्रौलि चलो डोलि डाँरा चलो आपन घरे ।

माँगरको शब्दले दुलहीका आमा, दिदीबहिनीहरू रुन थाल्छन् । रोएकै अवस्थामा दुलहीको दाजुले बहिनीलाई बोकेर बाहिर निकाली डोलीभित्र चढाइदिन्छन् । दुलही पठाउन दुलहीको भाइले मन्त्र साजेको लोटाको पानी बोकेर जाने प्रचलन छ । यो लोटाको पानीलाई भुइँमा राख्नु हुँदैन । त्यस्तै लकोँदी लकोँदा (दुलहीको दिदीभिनाजु) र उनकी साथीसङ्गीहरू करिब १०÷१५ जनाको सङ्ख्यामा पठलहरी (दुलहीसँगै जाने महिला) हरू दुलहीलाई छोड्न सँगै जान्छन् । फिर्ता जन्ती दुलहाको गाउँमा पुगेपछि सिधै घरमा नगई मरुवा (गाउँको सामूहिक देवताको थान) मा गएर डोलाडोलीलाई तीन पटक घुमाउँदै मरुवाको छाप्रोको प्रत्येक कुनामा लाठीले प्रहार गर्दै देवतासँग छोराछोरी मिलाएर दिनु भनेर सन्तानको आशीर्वाद माग्ने प्रचलन छ । 

पर्छिने कार्य

दुलहाको घरमा पुगेपछि डोलीबाट दुलहीलाई दुलहाको दिदी वा भाउजूले बाहिर निकाली घरको पूर्व ढोकामा दुलहालाई बायाँ र दुलहीलाई दायाँ राखेर कपडाले एकापसमा गाँठो पारेर भोजहीबाट शतबीजले पाँच पटक पर्छिने काम हुन्छ । त्यसपछि ढोका सामुन्ने राखिएको आगोसहित माटोको पालालाई दुलहाले खुट्टाले घोप्टो पारी बर्छीले फोर्छ । यदि पहिलो पटकमा नै त्यस पालालाई फुटाउन सकेमा पहिलो सन्तान छोरा हुने विश्वास छ । 

त्यसपछि भोजहीले दुवैलाई डो¥याएर लैजाँदा घरभित्रको ढोकामा दुलहाको दिदीबहिनी डुवार छेकौनी (बाटो छेक्नु) गरेर केही वस्तु माग्छन् । दुलहाले दिने वाचा गरेपछि मात्र बाटो छाड्छन् । डेहुरारमा दुलहा र दुलहीको टाउको एकापसमा भोजहीले तीन पटक ठोक्काउँछिन् । एकछिनपछि पठलहरीलाई विभिन्न परिकारका खानेकुरा खान दिइन्छ । दुलहीलाई बैठक कोठामा खाइरहेका जन्तीकहाँ पाँइ लगाउन (ढोक भेट परिचय) लगिन्छ । पाँइ लागेबापत जन्तीले आफ्नो गच्छे अनुसार रकम दिन्छन् । पठलहरीहरू नजिकै घर भए सोही रात फर्किन्छन् । दुलही पनि पठलहरीसँग जान खोज्दा नन्दले समात्दा दुलही रुन्छिन् । उसका साथीसङ्गी सम्झाइबुझाइ गरी ढोगभेट गरी बिदा हुन्छन् । 

अन्य विवाह

थारू समुदायमा विवाहका अन्य पद्धति पनि छन् । सोही घरबाट केटी दिने र ल्याउने प्रचलनलाई सट्टापट्टा वा झाँगा विवाह भनिन्छ । सट्टापट्टा विवाह पनि मागी विवाह अनुसार नै गरिन्छ । एक जोडीबिच सम्बन्धमा आँच आउँदा अर्को जोडीलाई पनि असर गर्ने भएकाले यो विवाहको चलन हराउँदै गएको छ । 

त्यस्तै जारी विवाह पनि प्रचलनमा छ । महिलाले पहिलो लोग्नेलाई छाडेर अर्को पुरुषसँग विवाह गर्दा हुनेवाला लोग्नेले पहिलो लोग्नेलाई जारी रकम तिरेर गरिने विवाह जारी विवाह हो । पहिलाको लोग्नेलाई छाडेर अर्को पुरुषसँग जाँदा केटा पक्षका इष्टमित्रलगायत केही नातेदार मरुवा भएको ठाउँमा केराको खम्बा गाडेर नयाँ लोग्नेले केटीलाई सोध्छ– 

यो तिम्रो को हो ?

उसले उत्तर दिन्छे, यो बैरी दुश्मन हो ।

पुनः सोधिन्छ, यसलाई काटुँ कि बचाऊँ ? 

केटीले काटिदेउ भनी जवाफ फर्काएपछि केराको खम्बालाई नयाँ लोग्नेले काटिदिन्छ । केटीले लगाएको पुराना चुरा फोडिन्छन् । नयाँ लोग्नेले चुरा लगाइदिएर आफ्नो घरमा लगि पर्छेर सबै जनालाई खानपिन गराई विवाह सम्पन्न हुन्छ ।   

त्यस्तै कुनै केटी कुनै केटाको लसपसमा पेट बोक्न गएमा सोही केटा वा अन्य केटासँग पर्छेर घर भित्र्याइन्छ भने त्यस्तो विवाहलाई घरवैठी विवाह भनिन्छ । घर भिœयाउन केटी पक्षका केही नातेदार केटीलाई लिएर केटाको घरमा केटासँग पर्छेर गाउँका मान्यजनलाई खानपिन गराई सम्पन्न गर्छन् । दाजुको मृत्यु भएमा भाउजूलाई देवरले स्याहार्ने चलन पनि छ । खास गरी भाउजूका ससाना छोराछोरी भएको अवस्थामा यस्तो विवाह गर्नु उचित मानेर यो विवाह गरिन्छ तर यस्तो वैवाहिक परम्परा अब हराउँदै गएको छ ।

अर्को प्रचलित विवाह भनेको प्रेम विवाह हो । बुबाआमाको सहमति वा जानकारीबिना केटाकेटी भागेर गर्ने विवाहलाई उह्री भोज (प्रेम विवाह) भनिन्छ । केटाकेटीको मन मिली केटाले आफ्नो नातेदारको घरमा केटीलाई भगाएर लैजान्छ । केटाको नातेदारले केटाको घरमा जानकारी दिएपश्चात् घरमा खानपिनको व्यवस्था मिलाई केटाकेटीलाई लिन कुनै व्यक्तिलाई पठाइन्छ । केटाकेटी घरमा आएपछि छोराबुहारीलाई पर्छेर घरमा भिœयाउने प्रचलन छ । घरमा भिœयाइसकेपश्चात् गाउँका नातेदार, इष्टमित्र आदिलाई भोज खुवाई विवाह सम्पन्न हुन्छ ।

अन्त्यमा, विवाहमा थारू गीत घन्किन थालेको छ । थारू गीत करोड क्लबमा प्रवेश गरेको छ । विडम्बना विवाहकेन्द्रित गीत बन्न सकेका छैनन् । विवाहमा गाइने माँगर (मङ्गल गीत) रेकर्ड हुन सकेको छैन । यसले गर्दा युवाको मुखमा माँगर होइन, डिस्को शैलीकै गीत झुन्डिएको हुन्छ । डोलाडोली बनाउने चलन हराउनुका साथै विवाहमा समेत थारू पहिरन हराउन थालेको छ । थारू मौलिक खानाको सट्टा होटल, रेस्टुरेन्टको मेनु, आफैँले तयार गरेको घरैया रक्सीको सट्टा बियर कल्चरले थारू समुदायलाई गाँज्दै छ ।

Author

डा. कृष्णराज सर्वहारी