• ११ असोज २०८१, शुक्रबार

सडकको बिस्कुनले दुर्घटनाको जोखिम

blog

सर्लाहीको बबरगञ्जमा किसानले सडकमा सुकाएको मकै। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २८ गते। सर्लाहीको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।  

यहाँका किसानले मकैलगायत अन्य अन्यबालीको बिस्कुन सडकमै सुकाउने गर्छन्। हिजोआज जिल्लाको चन्द्रनगर, हजरिया, जानकीनगर, राजघाट, जियाजोरलगायत क्षेत्रमा किसानले सडकमै मकैको बिस्कुन सुकाएको देखिन्छ। 

चन्द्रनगर गाउँपालिका-२, बबरगञ्जका किसान राजेन्द्र साहले राम्रोसँग सुक्ने भएकाले अन्नबाली सडकमै सुकाउने गरेको बताउनुभयो। “एकैपटक भित्याएको बाली त्रिपाल र गुन्द्रीमा सुकाएर साध्य हुँदैन्, त्यसैले सडकमै फिँजाएर बिस्कुन हाल्ने हो,” साहले भन्नुभयो, “सडकमा सुकाएको अन्नबाली त्यहीँबाट व्यापारीले किनेर लान्छन, घरमा ल्याइरहनु पनि पर्दैन्।”

साहले यो वर्ष सात कठ्ठामा रोपेको हाइब्रिड (वर्णसङ्कर) जातको मकै खेत छेउकै सडकमा सुकाएर बेचिसक्नुभएको छ। किसानले सुकाएको अन्नबालीको बिस्कुनले आधा सडक नै ढाक्ने गरेको छ। 

सर्लाहीका एकसुरक्षा अधिकारीले रातको समयमा समेत सडकमै बिस्कुन छाड्दा जोखिम बढेको बताउनुभयो। “राति गस्ती गर्दै जाँदा ठाउँ–ठाउँमा आधा सडक ढाक्ने गरी मकै सुकाएको भेटिन्छ,” ती सुरक्षा अधिकारीले भन्नुभयो, “यसले त गम्भीर किसिमको सवारी दुर्घटना निम्त्याउन सक्छ।”

आधा सडक ढाक्ने गरी बिस्कुन सुकाएर छेउमा ढुङ्गा र काठले घेर्ने गरिन्छ। भित्री सडकमा यसरी जथाभावी बिस्कुन सुकाउने कार्य रोक्न स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन्।