शालिग्राम नेपाल
चितवन, जेठ १० गते । गत साउनयता १० महिनामा विश्वमा दुर्लभ मानिएका ३१ वटा एकसिङे गैँडा मरेका छन् । चोरीसिकारीका कारण चितवन राष्ट्रिय निकुञ्जमा यो वर्ष एउटा पनि गैँडा मरेको छैन तर यस वर्ष प्राकृतिक कारणले भने ३० वटा गैँडा मरेका छन् । ३० वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने एउटा करेन्ट लागेर मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।
मृत्यु भएकामध्ये अधिकांश प्राकृतिक कारणले मरेको पाइएको छ । गत साउन ८ गते करेन्ट लागेर एउटा गैँडा मरेको थियो । त्यस्तै गरी भदौ ७ गते दुई महिनाको भाले गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जले दाबी गरेको छ ।
करिब एक वर्ष छ महिनायता चोरीसिकारीका कारण गैँडा नमरेपछि शून्य चोरीसिकारी वर्षका रूपमा मनाइएको छ तर प्राकृतिक रूपमा भने गैँडा मर्ने क्रम रोकिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले प्राकृतिक रूपमा गैँडा मर्नुलाई सामान्य लिनुपर्ने बताउनुभयो । सङ्ख्या धेरै भएपछि स्वाभाविक रूपमा सङ्घर्ष हुन्छ । जीवन जिउने क्रममा सङ्घर्ष गर्दा जुन बलियो हुन्छ, बलियो जनावर बाँच्दा अन्य मर्न सक्छन् । द्वन्द्व हुँदा आफू बसेको ठाउँबाट भाग्नु पर्छ वा मर्न बाध्य हुनुपर्ने हुन सक्छ ।
करिब सात दशकअघि चितवनमा आठ सय गैँडा थिए । अहिले छ सयको हाराहारीमा पुगेका छन् । चितवनको घाँसे मैदान र वासस्थानको अवस्था हेर्दा अझै दुई सय गैँडा वृद्धि गर्न सकिने दाबी निकुञ्जको छ । निकुञ्जले दिएको विवरण अनुसार साउन, भदौ र असोजमा दुई/दुई वटा, कात्तिकमा चार वटा, मङ्सिरमा दुई वटा, पुसमा एउटा, माघमा तीन वटा, फागुनमा चार वटा, चैतमा चार वटा, वैशाखमा तीन वटा र जेठको ९ गते एउटा गैँडा मरेको छ ।
जुधेर गैँडाको मृत्यु
पूर्वी चितवनको कालिका नगरपालिका–१, चतुर्मुखी सामुदायिक वन क्षेत्रमा आपसमा जुधेका कारण एउटा गैँडा मरेको छ । जेठ २ गते एकआपसमा जुधेर घाइते भएको गैँडा भागेको थियो । घाइते गैँडाको पछाडिको भागमा धेरै चोटका कारण रगत बग्दै दौडेपछि खोजतलास भएको सबडिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले बताउनुभयो ।
खोज्दै जाँदा बिहीबार साँझ चतुर्मुखी सामुदायिक वनको वडा नं. १ मा पर्ने जङ्गलको बिच भागमा मरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मरेको गैँडाको खाग र खुर सकुशल रहेको उहाँले जानकारी दिनुभयो । करिब सात वर्षको वयस्क गैँडाको खाग र खुर वन कार्यालय भरतपुरमा राखिएको छ । गैँडा मर्नुका कारणबारे पशु चिकित्सकको टोलीले पोस्टमार्टम गरी विवरण सार्वजनिक गर्ने तयारी रहेको कार्यालयले जानकारी दिएको छ । पोस्टमार्टमको प्रतिवेदन आएपछि वन कार्यालयमा राखेको खाग निकुञ्ज कार्यालयमा बुझाइदिने खनालले बताउनुभयो ।