• ९ जेठ २०८२, शुक्रबार

पञ्चाङ्ग यसरी बन्छ

blog

नेपाली सनातन समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यका लागि पञ्चाङ्ग प्रयोग गरिन्छ । ज्योतिषशास्त्रमा तिथि–बार–नक्षत्र–योग–करणको एकीकृत रूपलाई पञ्चाङ्ग भन्ने गरिएको छ । जसलाई बोलीचालीको भाषामा पात्रो भनिन्छ । पञ्चाङ्गमा यी पाँच पक्षको गणनाका साथै ग्रहहरूको अवस्था, चाडपर्वको निर्णय, विवाह–व्रतबन्ध–अन्नप्रासनको साइत र सूर्यचन्द्र ग्रहण आदि विभिन्न पक्ष समेटिएको हुन्छ । सनातन धर्मका चाडपर्व र साइत आदिको निर्धारण पञ्चाङ्गबाट नै हुने गर्छ । 

नेपालमा पात्रोको नियमन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्दै आएको छ । उसले देशभर पात्रो निकाल्ने पञ्चाङ्गकारलाई एकैथलोमा राखेर पञ्चाङ्गमा एकरूपता ल्याउने काम गर्छ । समितिले साउनमा पञ्चाङ्ग दर्ताका लागि आह्वान गर्दछ । त्यसका लागि एक महिना समय दिइएको हुन्छ । 

पात्रो गणनाको काम वैशाखदेखि नै सुरु गरिन्छ । नियमित पात्रो निकाल्दै आएकाले आगामी वर्षका लागि तयार पारेको कपी बुझाए पुग्छ तर नयाँले भने तीन वर्षको नमुना बुझाउनु पर्छ । नयाँ पञ्चाङ्गकारका लागि परीक्षणकालको प्रावधान पनि राखिएको छ । 

दर्ता अवधि सकिएपछि समितिले भदौमा सबै पञ्चाङ्गकारलाई बोलाउँछ । आफ्नो पात्रोको गणनासहित उपस्थित भएका ज्योतिषी सबैलाई राखेर समितिका पदाधिकारीले छलफल गर्छन् । भदौ र असोजमा सामान्य छलफल भए पनि ठूला चाडपर्वका कारण कामको गति भने मङ्सिरदेखि मात्र अघि बढ्छ । 

मङ्सिरदेखि प्रत्येक दिनजसो बस्ने बैठकमा सबै पञ्चाङ्गकर्ताको पात्रोको रुजु गरिन्छ । तिथि–नक्षत्र–योग–करणका घडी पला केलाइन्छ । तिनमा एकरूपता ल्याइन्छ । त्यसपछि ग्रहको अवस्था रुजु गरिन्छ । पञ्चाङ्गकर्ताले निकालेका विभिन्न साइतबारे समेत छलफल हुन्छ । 

चाडपर्वका सम्बन्धमा कहिलेकाहीँ समस्या पर्न सक्छ । यस्तो हुँदा यसअघि के गरिएको रहेछ भनी पुरानो पात्रो हेरिन्छ । धर्मशास्त्र–न्याय आदिका ग्रन्थ पल्टाइन्छ, विषयविज्ञ बोलाइन्छ । त्यसपछि मात्र निर्णय लिइन्छ ।

समितिबाट स्वीकृति पाइसकेपछि पञ्चाङ्गकर्ताले पात्रोको शुद्धाशुद्धि र डिजाइनको पक्षमा ध्यान दिन्छन् । उनीहरू आफ्नो पात्रो कसरी जनमानसमा बढीभन्दा बढी पु¥याउने भन्ने ध्येयमा लाग्छन् । 

२०८२ सालका लागि १८ वटा पात्रोले समितिबाट स्वीकृति पाए । तीमध्ये १४ वटा पुराना हुन् भने चार वटा नयाँ छन् । अहिले १९४६ सालदेखि छापिइरहेको तोयनाथ पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग र सूर्य पञ्चाङ्ग बढी प्रचलनमा छन् । 

कतिपयले भने समितिबाट स्वीकृति नलिई आफूखुसी पात्रो निकाल्ने गरेको पाइन्छ । त्यसो त मूल वैदिक परम्पराको अनुयायीका लागि भनेर स्वाद्ध्यायशालाले काठमाडौँबाट ‘वैदिक तिथिपत्रम्’ प्रकाशन गर्ने गरेको छ ।

सौर–चान्द्रमानमा आधारित

सनातन धर्मकर्म चान्द्रयुक्त सौरमासमा गर्नुपर्ने मान्यता छ । नेपालमा धार्मिक एवं सांस्कृतिक कार्य सौरमानको विक्रम संवत् र चान्द्रमानको शालिवाहनीय शाके (६० संवत्सरयुक्त) पात्रोका आधारमा चल्ने गरेको छ । चान्द्रगणना अनुसार चैत्र शुक्ल (यो वर्ष २०८१ चैत १७ गते) प्रतिपदामा नयाँ वर्ष लाग्छ र सौरमान अनुसार वैशाख १ गते । शालिवाहन शाके १९४७ हो भने विक्रम संवत् २०८२ ।

पञ्चाङ्गको इतिहास

पहिले पहिले गाउँ गाउँमै नेपाली कागजलाई मोडेर पात्रो बनाइन्थ्यो । यसलाई ‘मुडे’ पात्रो भनिन्थ्यो । त्यस्ता मुडेपात्रोमा प्रायः तिथि, नक्षत्र योग र बार मात्रै लेखिन्थ्यो, गते हुँदैनथ्यो । ज्योतिषीहरू एक दुई महिनाको पात्रो गन्ने गर्थे । अर्कोतिर केही ज्योतिषीले पात्रो बनाएर हुनेखानेलाई उपलब्ध गराउँथे । सर्वसाधारणले तिथिपर्व हेर्नु पर्दा हुनेखानेका घरमा गएर हेर्थे ।

१९४१ सालदेखि भने छापाको पात्रो प्रकाशित हुन थालेको इतिहास छ । छापाको पहिलो पात्रो ज्योतिषी जीवनाथको नाममा निस्किएको थियो ।   

–युवामञ्च   

Author

रामप्रसाद धिताल