• ४ साउन २०८१, शुक्रबार

समन्वय समितिका पदाधिकारीद्वारा शपथ ग्रहण

blog

नमराज सुवेदी

नुवाकोट, जेठ २८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका पदाधिकारीले शुक्रवार पद तथा गोपनियता शपथ लिनुभएको छ । शपथसँगै पदाधिकारी तथा सदस्यहरुले आफ्नो काम शुरु गर्नुभएको छ । 

मनोनयनको अन्तिम समयसीमा बुधवार आवश्यक नौ पदमा मात्रै उम्मेदवारी परेको थियो । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख, उपप्रमुख र सदस्य सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समिति प्रमुखमा माओवादी केन्द्रवाट पन्चकन्याका रजिन्द्रविक्रमसिंह ठकुरी, उपप्रमुखमा कांग्रेसका तर्फबाट विदुर नपाका दलबहादुर तामाङसहित ७ जना सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।

समिति गठन गर्न सत्तारुढ कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । सोही गठबन्धनका कारण जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पराजित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा आयोजित कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीष उमेशप्रसाद लुइँटेलले जिसस प्रमुख ठकुरीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । 

पदभार ग्रहण गर्दै प्रमुख ठकुरीले समग्र जिल्लाको विकासको लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालासँग समन्वय गर्ने बताउनुभएको । विकास तथा जनताको परिवर्तनमा दलविशेष हेरिन नहुने बताउनुभएको । 

प्रमुख ठकुरीले उपप्रमुख तामाङलगायत सबै सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । सदस्यहरु रामचन्द्र पौडेल, सन्तोषी देवकोटा, राजेन्द्र श्रेष्ठ, मोहन पुडासैनी, सम्झना सेढाँई, कान्छी सुनुवार र धनमाया विक रहनुभएको छ । मनोनयन दर्तामा माओवादी केन्द्र र कांग्रेसको तर्फबाट साझा उम्मेदवारको रुपमा ठकुरीको मात्र प्रमुखमा उम्मेदवारी परेपछि सर्वसम्मत हुनुभयो । नुवाकोटमा १२ स्थानीय तह छ ।