• ८ जेठ २०८२, बिहिबार

कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयको सेवा ठप्प

blog

इलाका प्रशासन कार्यालय खोटाङ । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, जेठ ८ गते ।
कर्मचारी नहुँदा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा ठप्प भएको छ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा इलाका प्रसाशन कार्यालयले दिँदै आएको नागरिकता वितरण लगायतका सेवा ठप्प भएको हो ।

जेठ ६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणीकरण एवम् सिफारिस गर्ने, नाबालक परिचय–पत्र प्रदानलगायतका सेवा रोकिएको हो ।  गृह मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा सेवा ठप्प भएपछि नागरिकले पुनः जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता दोहोरिएको छ । 

गृह मन्त्रालयले इलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कायम मुकायम अवधि सकिएपछि इलाका प्रशासन कार्यालयको सेवा प्रभावित भएको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् । राष्ट्रिय परिचय पत्रको काम रोकिँदा बैंकिङ, सामाजिक सुरक्षा भत्ता लगायतका काम पनि प्रभावित भएको स्थानीय सामाजिक अभियान्ता अमर सिं बस्नेतले बताउनुभयो ।

मन्त्रालयले इलाका प्रशासन कार्यालयमा अख्तियारी प्राप्त कर्मचारीको व्यवस्था नगर्दा नागरिकता, दलित जनजाती प्रमाणीकरण लगायतका कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल जानुपर्ने बाध्यता दोहोरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न पहल भइरहेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो ।