• ८ जेठ २०८२, बिहिबार

सवारी दुर्घटनामा चार घाइते

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ ८ गते ।
मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा बिहीबार सवारी दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् ।

झापाबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च. ८७९९ नम्बरको स्कारपियो जीप अनियन्त्रित भई दुर्घटना हुँदा चार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार घाइते हुनेहरूमा ताप्लेजङ सिदिङ्वा गाउँपालिका–६ निवासी २७ वर्षको वोनिश कडेरिया, काठमाडौँ महानगरपालिका–१५ निवासी ६५ वर्षको पूर्णकाजी महर्जन, झापा कमल गाउँपालिका–२ निवासी ३८ वर्षको भवानी न्यौपाने र झापा गौरीगञ्ज गाउँपालिका–२ निवासी ३० वर्षको मनोजकुमार ताजपुरिया हुनुहुन्छ ।

घाइतेमध्ये कडेरिया र महर्जनको जनसेवा अस्पताल बर्दिबासमा, न्यौपाने र ताजपुरियाको आर एन्ड के  मेडिकल भिमानमा उपचार भएको कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।