• ८ जेठ २०८२, बिहिबार

एकै दिनमा पुगिन्छ तिलिचो ताल

blog

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल जाने पदमार्ग र पर्यटक ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), जेठ ८ गते । विश्वकै सबैभन्दा अग्लो स्थान मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो तालमा मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनीगाउँबाट एक दिनमै पुग्न सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र मानिएको तिलिचोमा पुग्न मुस्ताङको भ्रप्सोसम्म सडक सञ्जाल पुगेपछि त्यहाँबाट पैदलयात्रा गरी तिलिचो तालसम्म पुग्न सहज भएको हो ।

ठिनीगाउँबाट करिब १६ किलोमिटर सवारीसाधनको यात्रा गरी भ्रप्सोसम्म आइपुगिन्छ । त्यहाँबाट करिब सात घण्टा पैदलयात्राबाट तिलिचो ताल पुगिने ठिनीका स्थानीय युवा नीरज थकालीले बताउनुभयो । पर्यटन व्यवसायी थकाली भन्नुहुन्छ, “अहिले तिलिचो ताल पुग्न मुस्ताङबाट निकै सहज छ, पदयात्रा गरिरहेका सवारीसाधन र पदैलमार्गबाट एकै दिनमा तिलिचो पुगेर फर्किएका धेरै हुनुहुन्छ ।” 

सवारीसाधनबाट माथिल्लो क्षेत्रसम्म पुगिने र पदैलयात्राका लागि समेत सहज भए पनि पहिलो पटक यात्रा गर्दा लेक लाग्ने समस्यालाई दृष्टिगत गरी छोटो दुरीको प्याकेजमा एकदिने र लामो दुरीका लागि तीन दिनको तयारी गरी यात्रामा निस्किँदा सहज हुने ठिनीका युवा आसिम थकालीले बताउनुभयो । तिलिचो ताल अवलोकनपछि फर्किनेलाई केही दिनअगाडि अन्नपूर्ण संरक्षण क्षेत्र जोमसोमले समुद्री सतहदेखि चार हजार ५४५ मिटर उचाइमा पर्यटक आश्रयस्थल बनाएको छ  । हिमालको काखैमा बसेको अनुभूति हुने गरी बनाइएका आश्रयस्थलमा बसेर फर्किने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । 

पदमार्गमा खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाउँपालिका, प्रदेश सरकार, अन्नपूर्ण संरक्षण क्षेत्रबाट भइरहेको पूर्वाधार विस्तारको अभियानले समेत पर्यटकलाई थप सहज भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, “मुस्ताङबाटै तिलिचो जाने पर्यटकलाई कुनै समस्या हुन नदिने गरी पूर्वाधार बनाउन केन्द्रित भएका छौँ, अहिलेको पर्यटक आगमन लोभलाग्दो छ ।” तिलिचो तालमा जाने स्थानमा सङ्केत चिह्न, दुरीसहित अन्य जानकारीमूलक बोर्डले समेत सहज भएको अध्यक्ष लालचनको भनाइ छ ।

मुस्ताङबाट पछिल्लो समय तीर्थयात्रुसमेत पुग्ने गरेका छन् । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीका कारण मुक्तिनाथ मन्दिर दर्शनका लागि आएका धार्मिक पर्यटक जल लिनसमेत पुग्ने गरेको पाइन्छ । तिलिचो जाने पदमार्गमा पर्ने ठिनीगाउँ, हिमचितुवाको गुफा, कृषकको दैनिकी, भेडाच्याङ्ग्रा, चौँरीको बथानका साथै ऐतिहासिक घरपझोङ किल्ला, कैस्याङ क्याम्प, नमखु लेक, ह्यारझु भ्यु प्वाइन्ट, थकाली जातिको कला र संस्कृतिका साथै नीलगिरिसहित हिमशृङ्खलालगायत प्राकृतिक सौन्दर्ययुक्त दृश्यावलोकन गर्न पाइन्छ । तिलिचोमा असोजदेखि मङ्सिर र फागुनदेखि जेठसम्म धेरै पर्यटक मुस्ताङ हुँदै यात्रा गर्ने गरेका छन् ।