टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), जेठ ८ गते । गुल्मीको इस्मा गाउँपालिका–४, कोटकोटरी पुतलीबजारका ४१ वर्षीय बलबहादुर दर्जीको आधा शरीर जलेको छ । २०४३ सालमा घरमा आगो लागेपछि बलबहादुर उम्कनै पाउनुभएन । त्यो बेला कसैले बाँचेर घर फर्किने कल्पना पनि गर्थेनन् । उहाँले भन्नुभयो, “उपचारका लागि जापान सरकारको सहयोग पाएर तीन वर्ष अस्पताल बसेँ । आफूले उपचार गर्नुपर्ने भए बाँच्ने थिइनँ ।”
उहाँको बाल्यकाल पीडामै बिते पनि उमेर बढ्दै जाँदा सङ्घर्षले नै जीवनका ४० वर्ष धकेल्नु भएकै थियो । फेरि गत वर्ष वैशाख ८ गते डढेलो बस्ती पसेपछि घरगोठसहित लाखौँको सम्पत्ति स्वाहा बन्योे । उहाँ र परिवारले भागेर ज्यान मात्रै बचाउन सक्नुभयो । घरगोठसँगै दुई वटा लुगा सिलाउने, एउटा काठ काट्ने मेसिन र पन्चैबाजा सेट जलेर नष्ट भए ।
‘ख’ वर्गको अपाङ्गतामा दर्जी पर्नुहुन्छ । परिवारलाई छिमेकी सुखाराम दर्जीकोमा राखेर वर्षदिन कटाउनुभयो । सरकारले घर निर्माणको आस देखाएर अलपत्र पारेको दर्जीको गुनासो छ । उहाँले भन्नुभयो, “दैवले चोटभन्दा अरू केही दिएन । सरकारले पनि राहतभन्दा पीडा नै थपिरह्यो ।” दर्जीको सरकारले बनाइदिने घर आधा बनेर उभिएको मात्रै छ । छिमेकमा पैसा जुटाउन सक्नेले जेनतेन छाउनसम्म सके तर बलबहादुर जस्तै विपन्नले आधा घरमा पहिलो तलासमेत पुर्न सकेका छैनन् । दर्जीले दैनिक ठुलो पानी पर्न थालेकाले आधा घर पनि भत्किन सक्ने बताउनुभयो ।
पहिलो किस्ता निकासा
गुल्मीमा क्षति भएको एक वर्षपछि आगलागी र मनसुनजन्य विपत्बाट पीडित परिवारको पहिलो किस्ता निकासा भएको छ । आगलागी र मनसुनजन्य विपत्बाट पीडित ३५९ जनाको पहिलो किस्ता निकासा भएको हो । आगलागीका ४७ र मनसुनजन्य विपत्बाट क्षति भएका ३१२ जनाको पहिलो किस्ताबापतको रकम जिल्ला प्रशासन कार्यालय गुल्मीको जिल्ला विपत् व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाइएको हो । लामो समय किस्ता नपाएपछि पीडित परिवारले सास्ती खेप्दै आएका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय तहको खातामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला विपत् व्यवस्थापन कोषमा तिनै तहबाट जम्मा भएको रकम लाभग्राहीका आधारमा स्थानीय तहमा पठाइएको बताउनुभयो । सबै जनाले पहिलो किस्ताबापतको ५०÷५० हजार पाउने छन् । गैरेले पहिलो किस्ताका लागि केन्द्रबाट एक करोड ६० लाख रुपियाँ र प्रदेशबाट ५३ लाख ८५ हजार रुपियाँ जिल्ला विपत् व्यवस्थापन कोषमा प्राप्त भएको जानकारी दिनुभयो ।