• ८ जेठ २०८२, बिहिबार

राजमार्गमा चौतारो संरक्षण

blog

नवलपुरको गैँडाकोट नगरपालिका भृकुटी चोकमा रहेको चौतारो ।

बोमलाल गिरी

नवलपुर, जेठ ७ गते  । गाउँघरमा कुनै बेला सार्वजनिक स्थलका रूपमा चौतारा, पाटी, पौवा निकै परिचित थिए । पुर्खाले बाटो हिँड्दा थकान मेट्न, गाउँबेँसी गर्दा भारी बिसाउन, गर्मीयाममा आराम गर्न, बटुवाले बास बस्न र पुण्य कमाउन चौतारा बढ्दो सहरीकरणसँगै गाउँ गाउँमा सडक विस्तार भएपछि लोप हुँदै जान थालेका छन् । नेपालीको मौलिक पहिचान र संस्कृति बोकेका चौतारा र पाटीपौवा पहाड होस् वा तराई सबै ठाउँमा लोप हुँदै छन् । 

पहाडको तुलनामा तराईमा चौतारा निकै कम बनेका थिए । नवलपुरको गैँडाकोट नगरपालिका–२ को भृकुटी चोकमा रहेको चौतारा राजा महेन्द्रले पूर्वपश्चिम राजमार्गको शिलान्यास गर्ने व्रmममा विसं २०१८ सालमा स्थानीय डिल्लीराम भुसालको सव्रिmयतामा बनेको र पिपल रोपिएको स्थानीय ६५ वर्षीय हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

नारायणघाट–बुटबल सडकखण्ड विस्तार गर्दै जाँदा यो ऐतिहासिक चौतारो हटाउने तयारी थियो तर जनप्रतिनिधि र स्थानीयको पहलमा चौतारो संरक्षण गरिएको छ । चौतारो संरक्षण गर्न सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै संशोधन गरिएको छ । यो चौतारो संरक्षण गर्नका लागि आफू छ महिनासम्म विभिन्न स्थानमा धाएको गैँडाकोट–२ का अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । वडाध्यक्ष प्रकाश सापकोटाले भन्नुभयो, “परम्परागत सम्पदाको संरक्षण गर्नु आवश्यक छ भनेर मैले यो चौतारो जोगाउन जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म धाएँ । चिनियाँ ठेकेदार कम्पनीको अफिसमा गएँ, डिपिआर संशोधन गराउन पहल गरे । डिपिआर संशोधन पनि भयो र चौतारो पनि जोगियो ।”

ऐतिहासिक चौतारो संरक्षण गर्नु आफूहरूको कर्तव्य सम्झेर संरक्षणका लागि पहल गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । यसमा स्थानीयले पनि साथ दिएको उहाँको भनाइ छ । नारायणघाट–बुटबल सडकखण्ड विस्तारको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले स्थानीयको मागलाई सम्बोधन गर्न प्रारम्भिक रूपमा विस्तृत परियोजना प्रतिवेदन नै परिवर्तन गर्दै नयाँ डिजाइन तयार पारेको हो । नयाँ प्रतिवेदनमा चार लेन सडकभन्दामाथि स्थानीय लेन निर्माण गर्दै चौतारो सुरक्षित राखिएको सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । खनालले भन्नुभयो, स्थानीयको माग र जनप्रतिनिधिको सिफारिसका आधारमा मिलेसम्म चौतारालाई पर्याप्त स्थान छोडिएको छ । कम्पनीले नै हेभी वाल निर्माणमार्फत चौतारोको संरक्षण गर्ने योजना बनाएको छ ।” 

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा यसरी प्रतिवेदन नै संशोधन गरेर कुनै पनि स्थानका चौतारा संरक्षण नगरिए पनि आफूहरू ऐतिहासिक चौतारो जोगाउन सफल भएकोमा खुसी लागेको अध्यक्ष सापकोटाले बताउनुभयो । नेपालमा पनि झन्डै पाँच हजार वर्षअघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरणसमेत हुने भएकाले चौतारामा बरपिपलका बिरुवा रोप्ने चलनसमेत रहिआएको कथन छ । धर्म र संस्कृतिसँग जोडिएका बरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय भने मासिँदै गएको छ ।