• ९ जेठ २०८२, शुक्रबार

कांग्रेसको महाधिवशेन मङ्सिर भित्र हुँदैन : प्रवक्ता महत

blog

कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत।

अमरराज नहर्की

तनहुँ, जेठ ८ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै  महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताउनुभयो। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताउनुभयो।

विधान अनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यही अनुसार महाधिवेशनको समय एक वर्ष थपिने उहाँको भनाइ थियो। महतले भन्नुभयो, ‘विगतका अधिवेशनमा समय सरेको थियो, यसपटक पनि तयारी नपुगेकोले सार्नुपर्ने अवस्था छ।’ 

समानुपातिक राजनीतिक पद्धतिले गर्दा कुनै पनि पार्टीको बहुमत नआउने अवस्थामा अन्य पार्टीसँग सहमति गर्नु पर्ने बाध्यतात्मक कारणले एमालेसँग सहमती गरिएको डा. महतको भनाइ थियो। पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको महतले बताउनुभयो। 

कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतको धारणा थियो। कांग्रेस र एमालेबिचमा सिद्धान्त नमिले पनि सिद्धान्त भन्दा माथि कूटनीति हुने भएकोले सहकार्य गरिएको बताउनुभयो। जनताको चाहना पूरा गर्न सत्तामा जानु पर्ने भएकोले एमालेसँग सहकार्य गरिनु उपयुक्त भएको उहाँको भनाइ छ। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेपाली कांग्रेसका  पूर्व सभापति रघुनाथ पौडेल, उपसभापतिद्वय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्वय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल, नेपाल महिला सङ्घ तनहुँको अध्यक्ष पवित्रा पौडेल लगायतका वक्ताले गुटउपगुटमा नलागी व्यक्तिगत स्वार्थ छोडेर पार्टी सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो।