• ८ जेठ २०८२, बिहिबार

स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनमा आउने विश्वास

blog

ज्ञापन पत्र बुझ्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, जेठ ८ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको  बिहीबार ज्ञापन पत्र बुझ्नु हुँदै उहाँले आगामी आर्थिक वर्षमा बजेट विनियोजन भइ सोही समयबाट विश्वविद्यालय सञ्चालनमा आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो। 

विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्यमन्त्री, शिक्षामन्त्री लगायत सचिवसँग विभिन्न चरणमा संवाद र छलफल भएको मुख्यमन्त्री शाहको भनाइ थियो। उहाँले संवादको क्रममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास भएपछि बजेट विनियोजन गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुराकानी भएको उल्लेख गर्नुभयो। 

गएको आइतबार प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएको थियो।