• ९ जेठ २०८२, शुक्रबार

युवा सङ्घ महाधिवेशनको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

blog

महाधिवेशन स्थल अमरसिंहचोकको चौरमा कार्यक्रम स्थल अवलोकन गर्दै एमाले नेता महेश बस्नेत लगायत।

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ८ गते। राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। नेकपा (एमाले) निकट युवा सङ्घको  १० औँ महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदै छ। 

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ। महाधिवेशनलाई प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले जानकारी दिनुभयो।

इन्चार्ज पहारीले महाधिवेशनको तयारी पूरा भएको बताउँदै देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुने उल्लेख गर्नुभयो। महाधिवेशनबाट अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार सचिवसहित एक सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।

जेठ ११ सम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार प्रचारप्रसारका लागि युवाको मार्चपास भएको छ। राष्ट्रिय युवा सङ्घ नेपाल कास्कीको व्यवस्थापनमा चिप्लेढुङ्गाको मानव अधिकारचोकबाट सुरु भएको मार्चपास न्युुरोड हुँदै पोखरा सभागृहमा पुगेर सकिएको हो। 

युवा सङ्घ नेपालका इन्चार्ज पहारीले राष्ट्रियता, लोकतन्त्र, जनजीविका र युवाका सरोकारका मुद्दालाई स्थापित गर्न महाधिवेशन महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। महाधिवेशनपछि सबै खालका अतिवादको अन्त्य गर्ने दाबी उहाँले थप्नुभयो, “राजसंस्थाको पुनस्र्थापनाको सम्भावना छैन। प्रतिगामी तत्वलाई कहिल्यै उठ्न नसक्ने बनाइन्छ।” 

युवा संघ नेपालको महाधिवेशनमा नेतृत्वका लागि भने अहिलेसम्म अध्यक्षमा पाँच जनाको चर्चा छ। वर्तमान अध्यक्ष क्षितिज थेवेले दोहोरिने इच्छा देखाउनुभएको छ भने उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ। वर्तमान महासचिव सुमन पुरीले पनि आकांक्षा देखाउनुभएको छ। अहिले युवा सङ्घको केन्द्रीय कमिटी तीन सय ३९ सदस्यीय छ। 


युवा सङ्घको महाधिवेशनको प्रचारमा बिहीबार निकालिएको मार्चपासका सहभागी।