गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ८ गते । गोरखापत्र संस्थानले प्रशासन विभागअन्तर्गत सामान्य प्रशासन शाखा प्रमुख सचु सेन शाहलाई उमेर हद ५८ वर्ष पुगेकाले बिदाइ गरेको छ ।
विसं. २०४७ भदौ २९ गते संस्थान सेवामा प्रवेश गर्नुभएका शाहले संस्थानमा ३४ वर्ष ८ महिना ९ दिन सेवा गर्नुभएको छ ।
संस्थानमा बिहीबार आयोजित बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले शाहलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो।
कार्यकारी अध्यक्ष सुवेदीले आफूसँग भएको क्षमता र विज्ञता अनुसार शाहले कार्यमा पनि जुझारुपन देखाउनु भयो, त्यो सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।
यसैगरी, महाप्रबन्धक ऐरीले शाह सबैसँग घुलमिल गर्न सक्ने क्षमता भएको र ट्रेड युनियन आन्दोलनमा राम्रो अनुभवी भएको चर्चा गर्नुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले शाह हक्की स्वभाव र कामप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
बिदाइ कार्यक्रममा योजना विभागका प्रमुख भगीरथ बस्नेत, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, उत्पादन विभाग प्रमुख ओमप्रकाश भुसाल, अर्थ विभाग प्रमुख राजुकुमार महत,नेपाल प्रेस युनियन गोरखापत्र शाखाका अध्यक्ष राधा चालिसेलगायतले शाहसँगको सहकार्यका बारेमा आ–आफ्नो अनुभव सुनाउनुभयो।
बिदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले शाहको भावी जीवन सुखमय र आनन्ददायी रहोस भनी शुभकामना दिनुभयो ।