• ८ जेठ २०८२, बिहिबार

गणतन्त्र धरापमा पार्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, जेठ ६ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ। 

माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको संघर्ष, त्याग, रगत र पसिनाको उपलब्धिको रुपमा रहेको गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको उल्लेख गर्नुभयो। 

माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टी भित्र अप्ठ्यारो पर्दा, विचारमा तीव्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको स्मरण गर्नुहुँदै उहाँले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकोले बेला बेला आउने गरेको बताउनुभयो। 

संविधानको रक्षाको लागि माओवादी केन्द्रकै जिम्मेवारी रहेको र त्यो हिम्मत पनि माओवादी केन्द्रसँगै रहेको उहाँको भनाइ छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर समाजवाद ल्याउन माओवादीले जनजागरण अभियान चलाएको जनाउनुभयो। 

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताको पक्षमा गरेका राम्रा काम नै त्यसको उदाहरण भएको  बताउनुभयो। उहाँले आफू प्रधानमन्त्री हुँदा समग्र कर्णालीको पक्षमा नयाँ र आकर्षक कार्यक्रम ल्याएको तर पछिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत ती योजना हटाएको जनाउनुभयो। अध्यक्ष प्रचण्डले माओवादी सरकारले गरेका राम्रा काम हटाएर वर्तमान उत्पीडित वर्गमाथि अन्याय गरेको उल्लेख गर्नुभयो। 

कार्यक्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले नै मध्यपहाडका जनताको आर्थिक, सामाजिक विविधताको लागि र पहाडलाई तराईसँग जोड्न मध्यपहाडी राजमार्गको योजना अघि सारेको बताउनुभयो। मध्यपहाडी राजमार्गको भेरी पुल लामो समयसम्म अलपत्र परेको उल्लेख गर्नुहुँदै सदनमा जोडदार आवार उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। 


यसका साथै उहाँले नयाँ तथा नमूना सहर निर्माणलाई उच्च प्राथमिकता दिने, कृषिमा आधारित औद्योगिकरण स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने, जल, जमिन र वनमा आधारित उत्पादनलाई अगाडि बढाउने खालका कार्यक्रममा प्राथमिकता दिने बताउनुभयो।