• ८ जेठ २०८२, बिहिबार

प्रदेशस्तरीय फोटो प्रदर्शनी

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, जेठ ६ गते । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो । 

प्रदर्शनीमा राखिएका ६० फोटोमध्ये फोटो पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा वसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निशान्त राना चौथो तथा मनोज बस्नेत पाँचौँ स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर/फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री सदानन्द मण्डलले उक्त प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना तथा नेपाल फोटो पत्रकार महासङघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा प्राप्त २०८ फोटोमध्ये ६० उत्कृष्ट फोटो छनोट गरी प्रदर्शनीमा राखिएको कार्यव्रmम संयोजक तथा फोटो पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा निर्णायक समितिको संयोजकका रूपमा पत्रकार  गिरिराज बास्कोटा रहनुभएको थियो । 

सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहनुभएको थियो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेशकै पर्यटकीयस्थलको प्रचारप्रसार र भ्रमण वर्ष २०८२ लाई सहयोग पु-याउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रदर्शनीस्थलमा चार सयभन्दा धेरै अवलोकनकर्ताको उपस्थिती रहेको आयोजकले जनाएको छ ।