गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ६ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । सिंहदरबारमा सोमबार आयोजित एक कार्यव्रmमबिच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी खाएर वितरण कार्यको शुभारम्भ गर्नुभयो ।
मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताउनुभयो । उहाँले सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु-याउनका लागि पाइप लाइनको विस्तार गर्न मन्त्रालयको तयारी रहेको जानकारी दिनुभयो ।
“अब सिंहदरबार क्षेत्रका सबै मन्त्रालय र कार्यालयमा मेलम्चीको स्वच्छ, सुरक्षित र भरपर्दो पानी आपूर्ति हुने छ । यससँगै त्यहाँ बोतल र जारको पानीको प्रयोग विस्थापित हुने छ,” उहाँले भन्नुभयो, “आजबाट सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुने छ ।”
सिंहदरबारमा मेलम्चीको पानी वितरण शुभारम्भको पहललाई सुशासन, पारदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको मूर्त रूपका रूपमा व्याख्या गर्दै मन्त्री यादवले भन्नुभयो, “यो केवल सुरुवात मात्र होइन, प्रशासनिक क्षेत्रमा पारदर्शी, दिगो र सस्तो खानेपानी वितरण प्रणालीको उदाहरणीय अभ्यास पनि हो ।”
कार्यव्रmममा खानेपानी मन्त्रालयका सचिव इ. प्रमिलादेवी शाक्य वज्राचार्य, सहसचिव इ. मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ. रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेललगायतको सहभागिता थियो ।
थप पाइप विस्तार सुरु
सरकारले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने क्रममा अहिलेसम्म खानेपानीको पाइप पुग्न नसकेको क्षेत्रमा खानेपानी पाइप विस्तार सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जानकारी गराएको छ ।
निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले उपत्यकामा खानेपानी पाइप विस्तार गर्ने योजना अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङ्ली, लाजिम्पाट, बेलकोट, शिवपुरी, खोकना तथा नागार्जुन नगरपालिका अन्तर्गतको वडा नम्बर १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेवलगायतका क्षेत्रमा पानी वितरण प्रव्रिmया सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यी क्षेत्रमा खानेपानीको सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान गरिएको छ । वैशाख ३१ गते बोलपत्र आह्वान गरिएको थियो । यी क्षेत्रमा तीन हजार ८११ मिटर खानेपानी पाइप विस्तार गर्न लागिएको हो । यस क्षेत्रमा पानी वितरण सञ्जाल विस्तारसँगै काठमाडौँ उपत्यकामा प्रतिदिन मेलम्ची खानेपानी योजनाको २७० मिलियन लिटर वितरण हुने छ ।”
उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्न र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्देश्यसहित पानी वितरण प्रव्रिmया सुरु गरिएको बताउँदै उहाँले मेलम्चीको पानी वितरण विस्तार अभियानका लागि सरकारको निर्देशनपछि प्रव्रिmया सुरु गरिएको जानकारी दिनुभयो । यसअघि निर्देशनालयले चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण प्रक्रिया सुरु गरिसकेको छ । चव्रmपथ बाहिर ८७५.४ किलोमिटर प्लास्टिक (पिई) पाइप र ४६.४८ किलोमिटर फलामको (डिआई) पाइप बिच्छ्याउन लागिएको हो ।