• ८ जेठ २०८२, बिहिबार

हिल्सा जोड्ने सडक निर्माणमा लापरबाही, साँघुरो सडकले जोखिम बढ्दो

blog

कर्णाली कोरिडोरको खुलालु खण्ड । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, जेठ ५ गते । जमुनाह हिल्सा जोड्ने पश्चिम नेपालको उत्तरी सडक कर्णाली कोरिडोरको यात्रा जोखिमपूर्ण छ । सरकारले नेपाली सेना मार्फत निर्माण जारी राखेको कोरिडोर अन्तर्गत कालीकोटको नरहरीनाथ ९ खुलालु देखि हुम्ला सम्मको सडक साँघुरो भएकाले जोखिम बढिरहेको हो । 

खुलालु देखि लालीघाटसम्मको दुई किलोमिटर सडक त अति साँघुरो छ । नेपाली सेनाले अन्तिममा बलास्टर गरेर ट्याक खोलेको यो खण्ड निकै साँघुरो भएकाले दोहोरा गाडी आउजाउ गराउन एक फराकिलो ठाउँमा कुर्नुपर्ने अवस्था छ । उसो त कालीकोटको ४५ किलोमिटर खण्ड उस्तै जोखिम छ । बाजुरा तिरको पनि यस्तै रहेको गाडी चालकको भनाई छ । समग्रमा कर्णाली कोरिडोर साँघुरो भएकाले यहाँको यात्रालाई जोखिमपूर्ण मानिन्छ । 

कालीकोट पचालझरना गाउँपालिका वडा नं ९ का भूपेन्द्र सज्यालले सुर्खेत कालीकोट कर्णाली वारिको खण्ड अलि सहज भए पनि खुलालु हिल्सा खण्ड सारै साँघुरो भएकाले यात्रा गर्न पनि निकै मन दरो बनाउनु पर्ने बताउनुभयो । उहाँले यहाँ यात्रा गर्ने हामी यही जन्मेकाहरूका लागि पनि डर लाग्दो रहेकाले बाहिरबाट आउनेले त झनै मनलाई दरो बनाएर मृत्यु जितेर यात्रा गर्नु पर्ने सज्यालले सुनाउनुभयो । तल सिधै निलो कलरको कर्णाली बगिरहेको छ ।

निकै ठुला चट्टानले भरिएको भिर छ । हेर्दा मान्छेलाई रिँगटा समेत लाग्ने भएकाले यहाँको यात्रा मानसिक हिसाबले पनि त्रास पूर्ण रहेको स्थानीयको भनाई छ । पलाताका लंकवहादुर बमले सडक नहुँदा पैदल हिँड्ने बाटो झनै डर लाग्दो भएको सुनाउनुभयो । हामी कुनै ठाउँमा त मालुपात भन्ने बिरुवा हुन्छ त्यसैको हाँगा लहरा समातेर भरिमा हिँड्ने गरेको अनुभव सुनाउनुभयो । 

खुलालुको भिरमा कतै बाबियाको झिम्टा कतै त डोरी झुन्डाएका थिए भने प्राय ठाउँमा मालुको लहराको साहरामा नुनका भारी बोकेर मृत्युलाई हत्केलामा राखेर यात्रा गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उति बेलाको दुख हेर्दा त आज भोली धेरै सहज हो । अव जे सडक निमार्ण गर्नु अलि फराकिलो भएको भए बाहिरबाट आउने यात्रु डराउनु नपर्ने बमको भनाई छ । 

कोरिडोरमा गाडी चलाउँदै आउनु भएका चालक महेश न्यौपानेले यताउता हेर्ने आट आउँदैन सिधै अगाडी गाडीको सिसामा हेदै बढीको १६ देखि २१ सम्मको स्प्रिडमा गाडी चलाउने गरेको सुनाउनुभयो । कुनै ठाउँमा त जिरोमा पनि गाडी चलाउनु पर्छ । अहिले स्पिड बढ्ने बित्तिकै ठाउँ नपुगेर गाडी भिरमा जाने खतरा हुन्छ, त्यसैले पनि यहाँको यात्रा जति सक्दो बिस्तारै गर्नु पर्ने बाध्यता साँघुरो सडकका कारणले रहेको न्यौपानेको भनाई छ । 

सरकारले यो सडक चौडाका लागि खासै बजेटको व्यवस्थापन गरेको छैन । नाला निमार्ण बर्सातको समयमा आएको पहिरो पन्छाउने लगायतका क्षेत्रमा सानो आकारको बजेट विनियोजन गर्ने गरे पनि खोलामा बनाउनु पर्ने पुल र चौडा सडकका लागि भने सरकारको ध्यान पुगेको छैन । बजेट अभावले कर्णाली कोरिडोरको यात्रा निकै जोखिम छ ।