• ५ जेठ २०८२, सोमबार

हाम्रो काँधमा परिवर्तनको अभिभारा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन, प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ ४ गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेससँग मिल्दा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने र प्रतिस्पर्धा गर्दा मिल्नुपर्छ भन्ने बिर्सन नहुने बताउनुभएको छ । 

आइतबार बेसीसहरमा आयोजित नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बहुदलीय प्रतिस्पर्धा सुरु भएदेखि काँंग्रेससँग पटक–पटक सहकार्य र प्रतिस्पर्धा हुँदै आएको बताउनुभयो । “देशमा राजनीतिक परिवर्तन गर्दा होस् या संकट परेका बेला कांँग्रेससँग मिलेर अगाडि बढेको धैरै उदाहरण छन्” उहाँले भन्नुभयो, “काँग्रेससँग कुन बेला मिल्ने र कुन बेला प्रतिस्पर्धा गर्ने भन्ने हेक्का चाँहि एमालेले राख्नुपर्छ ।”

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ साल यता राजनीतिक परिवर्तन र देशको संकट समाधानका लागि धेरै पटक काँग्रेससँग मिलेको उदाहरण दिनुभयो । “२००७ सालमा प्रजातन्त्र ल्याउँदा होस् या २०१७ सालमा राजाले प्रजातन्त्र खोसेपछि त्यसबिरुद्ध कांग्रेससँग मिलेर अघि बढ्याँै । २०४६, २०६२–२०६३ को जनआन्दोलन, संविधान जारी गर्दा र नाकाबन्दीको सामना गर्न दुई दल मिलेका छाँै” पोखरेलले भन्नुभयो, “२०४८ पछि सबै चुनावमा काँग्रेससँग नै प्रतिस्पर्धा गरिरहेका छौँ ।”

मुलुकमा राजनीतिक परिवर्तनपछि एमालेको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि रहेको उहाँले बताउनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले त्यस दिशामा धेरै काम गरेको उहाँले बताउनुभयो । “हाम्रो काँधमा वर्तमानमा परिवर्तन गर्ने अभिभारा छ, चुनौतीले भरिएको यो अभिभारा पूरा गर्ने योजना हामीसँग हुनुपर्छ” बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा हुनुपर्छ । आम नागरिकका समस्यासँग हातेमालो गर्दै अघि बढनुपर्छ ।”

कार्यक्रममा कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं लमजुङ इञ्चार्ज जमीन्द्रमान घले, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रदेश कमिटीका सचिवालय सदस्य मोहनहरी पौडेल, प्रदेश कमिटीका सदस्य एवं बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रदेशसभा सदस्य यशोदा रिमाल लगायतले मन्तब्य राख्नुहुँदै अझै सुदृढ र सक्षम पार्टी निर्माणका लागि योजना बनाएर अघि बढनु पर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले लमजुङका अध्यक्ष राजुकमार विष्टको अध्यक्षतामा आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले समसामयिक विषयमा १४ बुँदे प्रस्ताव पारित गरेको छ ।