निराजन परियार
चौमाला (कैलाली), जेठ ४ गते । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिनुभएको छ ।
आइतबार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबिच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिन पहिले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिनुभएको थियो । संसदीय दलको बैठकले अध्यक्षको निर्देशन विपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
शनिबार बसेको अर्को बैठकले विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पदको शपथ ग्रहण गराउन सिफारिस गरेको थियो । सात प्रदेश सभा सदस्यमध्ये चार जनाको उपस्थितिमा बहुमतको आधारमा चौधरीको नाम टुङ्गो लगाइएको सो दलले भनेको थियो ।
कैलाश चौधरी मन्त्री बन्नबाट पछाडि हटेपछि रामेश्वर चौधरीलाई अगाडि सारिएको थियो । कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभामा निर्वाचित चौधरी यसअघि कमलबहादुर शाह नेतृत्वकै सरकारमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो ।
विवादास्पद अडियो सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेको लक्ष्मणकिशोर चौधरीले पदबाट राजिनामा दिनुभएको थियो । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य रहेका छन् ।
नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) बाट ११, नेकपा (माओवादी केन्द्र) बाट ११, नेकपा (एकीकृत समाजवादी) बाट ४, तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य रहेका छन् ।