काठमाडौँ, जेठ ४ गते । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा हाउन्ड्स एकेडेमीको अपराजित यात्रामा ब्रेक लगाएको छ ।
कीर्तिपुर कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले हाउन्ड्सलाई ७९–७५ ले हरायो । हाउन्ड्सले पहिलो क्वार्टर आफ्नो पक्षमा पारेपनि त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमन गरेको थियो ।
हाउन्ड्सले पहिलो क्वाटरमा २०–१६ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा ४१–४१ को बराबरी भएको थियो ।
तेस्रो क्वाटरमा हाउन्ड्सले १९–१८ ले आफ्नो पक्षमा पार्दै एक अङ्कको झिनो अग्रता बनाएको थियो । तर चौथो तथा निर्णायक क्वाटर २०–१५ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले रोमाञ्चक जित निकालेको हो ।
गोल्डेनगेटका लागि अभिषेक सिंहले २४ अङ्क बनाउनुभयो । अभिषेक सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । यस्तै हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २५ अङ्क जाड्नुभयो ।
लिगमा गोल्डेनगेटको यो तेस्रो जित हो । चार खेलमा तीन जित र एक हार खेपेको गोल्डेनगेटको सात अङ्क छ । समान खेलबाट हाउन्ड्सले पनि सात नै अङ्क बनाएको छ ।
अर्को खेलमा टाइम्स बास्केटबल क्लबले कीर्तिपुर क्लबलाई ७६–७२ ले पराजित गरेको छ । टाइम्सका लागि कप्तान सदिश प्रधानले २२ अङ्क बनाउनुभयो ।
उहाँ मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । कीर्तिपुरका लागि सयुन राईले सर्वाधिक २३ अङक बनाउनुभयो । जितसँगै टाइम्सले चार खेलबाट ६ अङ्क बनाएको छ । कीर्तिपुरको पनि समान खेलबाट ६ नै अङ्क छ ।