नारद कोहार
तौलिहवा(कपिलबस्तु), जेठ ४ गते । लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । कपिलवस्तुको तौलिहवामा सम्पन्न विशेष साधारण सभाले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका प्रदेश अध्यक्ष गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव पारित गरिएको हो ।
सङ्घका उपाध्यक्ष विनयराज भण्डारीका अनुसार प्रदेशका ४१ मध्ये ३८ जनाले अध्यक्ष गुरुङ विरुद्ध मत हालेको बताउनुभयो । उपाध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको विशेष साधारण सभामा ७ जिल्लाका प्रतिनिधि र प्रदेश सदस्य, जिल्लाहरू गरी ३८ जना सहभागी थिए ।
अध्यक्ष गुरुङ विरुद्ध परेको प्रस्ताव पारित भएको उपाध्यक्ष भण्डारीको भनाइ छ । सभामा गुरुङ अनुपस्थित थिए । गुरुङ रूपन्देही क्रिकेट सङ्घका जिल्ला सचिव समेत हुन् । अध्यक्ष गुरुङले स्वेच्छारी, एकलौटी ढङ्गले क्यानको विधान विपरित ढेड वर्षदेखि सङ्घ चलाउँदै आएको र पटक पटक सचेत गराउन समेत कुनै सुनुवाई नगरेको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
सङ्घका प्रदेश कोषाध्यक्ष राजेश श्रेष्ठको ढेड वर्षअघि नै मृत्यु भएको थियो । क्रिकेट सङ्घको विधान अनुसार चेकमा कोषाध्यक्षको अनिवार्य दस्तखत हुनुपर्ने प्रावधान छ । तर कोषध्यक्षको मृत्यु भए पनि अध्यक्ष गुरुङले विधान विपरित एकलौटी ढङ्गले चलाउँदै आएको उपाध्यक्ष भण्डारीको भनाइ छ ।
सच्चिने कुनै उपाय नभएपछि आफ्नै नेतृत्वमा चैत २२ गते ३१ जनाले अध्यक्ष गुरुङ विरुद्ध क्रिकेट सङ्घमा अविश्वासको प्रस्ताव दर्ता गराएको उहाँले बताउनुभयो । अध्यक्ष गुरुङले भने सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले चलखेल गरी विधान विपरित आफूलाई हटाउने प्रपन्च रचेको आरोप लगाउँदै आएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि अध्यक्ष चन्दले विशेष साधारण सभा गर्न र सचिव पारस खडकाले स्थगन गर्न छुट्टाछुट्टै पत्र पठाएका थिए।
विवाद राष्ट्रिय खेलकुद परिषदमा पुगेको थियो । राखेपले सुरुमा विशेष साधारण सभा नगर्न निर्देशन दिएको थियो । पछि जेठ ३१ गते सङ्घले फेरि पत्र पठाएपछि जेठ २ गते भने परिषदका सङ्घ सस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले सङ्घको विनियमावली अनुसार सङ्घको विधान र विनियमावलीको प्रतिकुल नहुने गरी सुनिश्चितता गर्न गराउन लिखित निर्देशन दिएको थियो । राखेपको सो पत्र अनुसार नै विशेष साधारण सभा गरिएको सङ्घका केन्द्रिय सदस्य प्रदीप मजगौयाँले बताउनुभयो ।
यस्तै उपाध्यक्ष भण्डारीको अध्यक्षमा बसेको प्रदेश कार्य समितिको बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । दुई सातापछि हुने फेरी अर्को विशेष साधारण सभाले प्रदेश अध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ । प्रदेश समिति १३ सदस्यीय छ । कपिलवस्तु, रूपन्देही, पाल्पा, दाङ, बाके, बर्दिया, पश्चिम नवलपरासीमा क्यानको जिल्ला कार्य समिति छ ।
सो जिल्लाबाट ४ जनाका दरले २८ जना र प्रदेशको १३ जना समिति गरी सभामा ४१ जना प्रतिनिधि रहने प्रावधान छ । जसमध्ये कोषाध्यक्षको मृत्यु भई सकेको, एक जना विदेश छन् । विशेष सधारण सभामा सांसद तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, सङ्घका केन्द्रिय सदस्य मजगैयाँ, पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष खगप्रसाद चापागाई लगातयले सङ्घ विधि विधान अनुसार चल्नु पर्ने बताएका थिए । सचिव कैलाश रोका मगरको सञ्चालनमा भएको सभामा प्रजिअ दिलिप कुमार तामाङ, क्रिकेट संघका प्रतिनिधि, पदाधिकारी लगायतको सहभागिता थियो ।