• २६ जेठ २०८२, सोमबार

बेनीमा खानेपानी आयोजनाको क्षमता विस्तार

blog

वराहपाखो सामुदायिक बनमा निर्माण भएको स्लो स्यान्ड फिल्टर ट्याङ्की । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), जेठ ४ गते । म्याग्दी सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तार भएको छ । दुई करोड ४६ लाख लागतमा विभिन्न संरचनाहरू निर्माण गरी आयोजनाको क्षमता विस्तार गरिएको हो । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानीआयोजना अन्तर्गत वराहपाखो सामुदायिक वनमा पानी प्रशोधन ट्याङ्की र ६ वटा सेक्सन भएको स्लो स्यान्ड फिल्टर ट्याङ्की निर्माण गरी शनिबार परीक्षण गरिएको हो । 

बेनीबजारमा जनघनत्व बढ्दै जान थालेपछि खानेपानीको क्षमता विस्तार र गुणस्तर सुुधार गर्न वि.सं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग दुई करोड ४६ लाखमा ठेक्का सम्झौतामा ३ लाख ५० हजार लिटर क्षमताको १ वटा सेडिमेन्टेसन ट्याङ्की र खानेपानी शुद्धीकरणका लागि ६ वटा सेक्सन भएको ५ लाख ९४ हजार लिटर क्षमताको स्लो स्यान्ड फिल्टर ट्याङ्की तयार भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो । आयोजनाको क्षमता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबीसै घण्टा नियमित खानेपानी वितरण गर्न सहजे हुने संस्थाले जनाएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुुवेदी सहितको प्राविधिक टोलीले अनुगमन गरी ट्याङ्कीको परीक्षण गरी आवश्यक सुधार तथा थप संरचनाका बारेमा निर्माण पक्षलाई जानकारी गराइएको छ । नयाँ संरचना तयार भएसँगै स्लो स्यान्ड फिल्टर ट्याङ्कीको क्षमता ९ लाख ४४ हजार लिटर, रिर्जभ भ्वायर ट्याङ्कीको ५ लाख ७५ हजार लिटर र सेडिमेन्टेसन ट्याङ्की ७ लाख लिटर क्षमता सहित प्रति सेकेन्ड ३० पानीको भण्डारणको क्षमता भएको छ । 

ग्रामीण क्षेत्रबाट तीव्र बसाइसराइका कारण बढ्दो जनसङ्ख्याको चापले खानेपानी अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत हाल बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका १२ सय १६ घरधुरी सहित दैनिक २५ हजार जनसङ्ख्या खानेपानीको पहुँचभित्र रहेका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८,राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ भने वैकल्पिक खानेपानीका लागि बेनी नगरपालिका–२,स्थित म्याग्दी नदी किनारको इनारबाट लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको छ । 

मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गर्न ल्याबबाट परीक्षण सहित नियमित सरसफाइ सहित विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरेको छ ।