गाईघाट समाचारदाता
गाईघाट, जेठ ४ गते । उदयपुर सदरमुकाम गाईघाट बजार सुरक्षाका लागि बाढी प्रभावित क्षेत्रमा तारजालीमा ढुङ्गा भर्ने तथा सिमेन्ट छड जडान गरेर बनाइएको स्थायी प्रकृतिको ‘प्लमवाल’ सहितको तटबाँध निर्माणको काम सम्पन्न भएको छ ।
अघिल्लो वर्ष असोज १२ गते परेको अविरल वर्षाका कारण स्थानीय बरुवाखोलामा आएको बाढीले पुरानो बाँध बगाएर मानवबस्तीमा बाढी पसेपछि वर्षाकालीन अवस्थामा असुरक्षित हुँदै आएको गाईघाट बजार तटबाँध निर्माण भएपछि धेरै सुरक्षित बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
बरुवाको बाढीले पुरानो बाँध भत्काएकै स्थानमा ५६ मिटर लामो कङ्व्रिmट वाल र अर्को प्रभावित क्षेत्रमा ६० मिटर लम्बाइ तथा तीन मिटर चौडाइको ढुङ्गा जालीको तटबाँध निर्माण सम्पन्न गरी गाईघाट बजार सुरक्षाको काम गरिएको त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताउनुभयो ।
त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतका अनुसार २०८१ असोज १२ गते बरुवाखोलामा आएको बाढीले वडा नं. ११ को ढिम्की मन्दिरभन्दा तलको करिब ५० मिटर बाँध बगाएपछि बाढीको उच्च जोखिममा परेको गाईघाट बजारलाई सुरक्षित गर्न नगरपालिकाकै पहलमा जल तथा सिँचाइ विभाग जल उत्पन्न प्रकोप महाशाखा जावलाखेल ललितपुरबाट करिब ७० लाख रुपियाँ तत्काल निकासा गराएर स्थानीय उपभोक्ता समितिमार्फत स्थायी प्रकारको तटबाँध निर्माण गर्न सुरु गरिएको हो ।
करिब ७१ लाख ५२ हजार ४९७ हजार रुपियाँको लागत स्टिमेट भए पनि उपभोक्ता समितिले बेहोर्नेे दुई लाख १३ हजारसहित करिब ६६ लाख रुपियाँको लागतमा निर्धारित समयभन्दा तीन महिनाअगावै दुई स्थानमा दुई अलग प्रकारका तटबाँध निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बस्नेतले बताउनुभयो ।
जल तथा सिँचाइ विकास डिभिजन कार्यालय गाईघाटका विरिष्ठ डिभिजन इन्जिनियर प्रेम लासिवाका अनुसार एक मिटर ७० सेन्टिमिटर जमिनभन्दा मुनिबाट जग उठाएर चार मिटरको आधार बेसमा तीन मिटर उचाइ र एक मिटर टप भएको ५६ मिटर लामो प्लमवाल बनाइएको र यो स्थायी प्रकृतिको रहेको छ । नदी नियन्त्रणले स्थानीय बासिन्दामा बरुवाखोलाको बाढीबाट हुने उच्च जोखिमको त्रास व्रmमशः हटेर गएको र आफूहरू सुरक्षित भएको महसुस गरिएको स्थानीय उपभोक्ता निर्मला आचार्यले बताउनुभयो ।