शशिधर पराजुली
विराटनगर, वैशाख ३ गते । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो ।
वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महिनामा ७४ करोड रुपियाँ आन्तरिक आम्दानी गर्नुपर्ने हुन्छ । वैशाख मसान्तसम्म लक्ष्यको ८५ प्रतिशत राजस्व आम्दानी गरिसकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष राजस्व आम्दानीमा प्रदेशले सुधार गरेको र आर्थिक वर्षको अन्तिमसम्म पुग्दा लक्ष्य नभेट्टाए पनि ९० प्रतिशतभन्दा माथि पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सवारी साधन करबाट उल्लेख्य आम्दानी भएपछि कोशी प्रदेश सरकारले चालु वर्षमा राजस्व सङ्कलन गर्न लिएको लक्ष्य पूरा हुनसक्ने सम्भावना देखिएको हो । सवारी साधन कर सङ्कलन गर्ने अधिकार संघीय सरकारबाट गत साउनमा प्रदेशलाई दिइएपछि राजस्व आम्दानीमा सुधार देखिएको हो ।
सवारीसम्बन्धी अन्य आम्दानी र चालक अनुमति पत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट सरकारले ५५ करोड ७५ लाख ९० हजार २१ रुपियाँ आम्दानी गरेको छ । यो कुल आन्तरिक राजस्व आयको ६०.७ प्रतिशत हो । वैशाख महिनामा मात्र कोशी प्रदेश सरकारले १५ करोड ९१ लाख ७७ हजार ७७८ रुपियाँ आम्दानी गरेको जनाएको छ ।
प्रदेश सरकारले प्राकृतिक स्रोततर्फ खानी तथा ढुङ्गागिटीबाट भने उल्लेख्य राजस्व सङ्कलन गर्न सकेको छैन । वन क्षेत्रको रोयल्टीबाट १९ करोड ७२ लाख ३४ हजार ९७९ रुपियाँ राजस्व आम्दानी गरेको सरकारले घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट ८८ करोड ४८ लाख ८७ हजार २२० रुपियाँ आम्दानी गरेको जानकारी दिइएको छ ।
कोशी प्रदेश सरकारले वैशाख मसान्तसम्म २५ अर्ब ५५ करोड ६८ लाख चार हजार ८७५ रुपियाँ आय गरेको छ । यसमध्ये समानीकरण अनुदानबाट ६ अर्ब ३५ करोड ६८ लाख २६ हजार ५६० रुपियाँ, सशर्त पुँजीगत अनुदानबाट एक अर्ब ६८ करोड ४२ लाख १६ हजार ४८९ रुपियाँ प्राप्त गरेको छ ।
वैशाख मसान्तसम्म कोशी प्रदेश सरकारले चालुतर्फ नौ अर्ब ९० करोड ३१ लाख ६३ हजार ३३५ रुपियाँ र पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख ७६ हजार २३८ रुपियाँ गरी १६ अबए ७२ करोड १८ लाख ३९ हजार ५७३ हजार रुपियाँ आम्दानी गरेको छ । यस अवधिको कोशी सरकारले ४७ प्रतिशत बजेट खर्च गरेको छ ।