काठमाडौँ, जेठ ३ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको उहाँको भनाइ छ । उहाँले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको औंल्याउनुभयो । उहाँले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताउनुभयो । उहाँले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिनुभयो ।
‘‘सकेसम्म हामीले चाहनुपर्छ, सिङ्गै आन्दोलनलाई एकताबद्ध बनाउन । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छाैँ । ०३२ सालदेखि लाग्दै आयौँ । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकताबद्ध बनाउँदै पनि गयौँ । कोही एकताबद्ध भए,कोही भएनन् । कोही एकताबद्ध भएर पनि बिचैमा छोडेर पनि गए ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन । आफ्नो अडान ठिक छकी छैन, आफ्नो विचार ठिक छ की छैन ? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ । त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरूसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’’
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिष्टको रूपमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।