• ३ जेठ २०८२, शनिबार

मदन–आश्रितको स्मृतिमा शैक्षिक सामग्री वितरण

blog

अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरणका क्रममा एमाले अछामका नेता–कार्यकर्ता । तस्बिरः शिवराज ढुङ्गाना

शिवराज ढुङ्गाना

अछाम, जेठ ३ गते । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) अछामले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

सदरमुकाम मङ्गलसेनमा रहेको षोडशा माविमा आवासीय रूपमा रहेका बालबालिकालाई कापी, कलम सहयोग गरिएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । अनाथ बालबालिकाहरूलाई अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री सहयोग गरिएको अध्यक्ष उपाध्यायको भनाइ छ । 

मदन–जीवराजको योगदान स्वरूप जिल्ला अस्पताल र वयालपाटा अस्पतालमा भर्ना भई उपचारमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शैक्षिक सामग्री र फलफूल वितरण कार्यक्रमका क्रममा केन्द्रीय सदस्य तथा अछाम–२ इन्चार्ज यज्ञ बोगटीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को विचारले देश विकासमा मार्गदर्शक भएको बताउनुभयो । 

जबजको सान्दर्भिकता बुझेर अघि बढेमा नागरिक हित हुने अर्का केन्द्रीय सदस्य तथा अछाम–१ का इन्चार्ज कमल तिमिल्सेनाको भनाइ छ । शैक्षिक सामग्री तथा फलफूल वितरण कार्यक्रममा एमाले केन्द्रिय सदस्यद्वय कमल तिमिल्सेना र यज्ञ बोगटी, जिल्ला अध्यक्ष, पदाधिकारी र सदस्य लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।