फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ३ गते । अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक वर्ष पूरा भएको अवसरमा यो क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आगामी जुन ३ अर्थात् जेठ २० गते म्याराथन आयोजना गरिने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवसका दिन अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण गर्न लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविर (४१३० मिटर) बाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आएर सकिने छ ।
यो क्षेत्रको समग्र पर्यटनको विकासका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकासमा योगदान गर्न र पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ समग्र पर्यटन प्रवर्धन गर्न म्याराथन गर्न लागेका हौँ ।”
अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय उत्सवका रूपमा विकास गर्न लागिपरेको जनाउँदै उहाँले अघिल्लो वर्षको तुलनामा यस वर्षको म्याराथनमा अन्तर्राष्ट्रिय धावकहरुको सहभागिता बढ्ने अपेक्षा गर्नुभयो। महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा रहने यसपालिको अन्नपूर्ण म्याराथनमा अहिलेसम्म १० विदेशी धावकसहित ६० धावकले नाम दर्ता गराईसकेको समितिका प्रेस संयोजक टङ्कराज अधिकारीले बताउनुभयो ।
म्याराथनमा महिला÷पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । प्रथमले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीयले ७५ हजारसहित पदक र प्रमाणपत्र पाउने छन् । नाम दर्ता गरेका धावकहरू जेठ १८ गते म्याराथन आरम्भ विन्दु अन्नपूर्ण आधार शिविरमा पुगिसक्नुपर्ने छ ।
अन्नपूर्ण म्याराथन आयोजना गर्न ३८ लाख रुपियाँ लाग्ने अनुमान छ । यसको तयारीका लागि पाँच सय एक सदस्यीय रहेको मुल व्यवस्थापन समिति र १३ उपसमिति गठन भएका छन् । प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनले आरोहण गर्नुभएको थियो । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको हिमाल भएकाले यो आरोहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।