काठमाडौँ, जेठ ३ गते । काठमाडौँ महानगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको उपाधि रक्षा गरेको छ ।
गोदावरीस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रङ्गशालामा भएको फाइनलमा काठमाडौँ महानगरपालिकाले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ गोलले हरायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टाइब्रेकरमा ५–५ गोलको बराबरी हुँदै सडन डेथमा काठमाडौँले बाजी मारेको हो ।
लगातार दोस्रो पटक उपाधि जितेको काठमाडौँले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता गोदावरीले तीन लाख रुपियाँ प्राप्त गर्यो ।
मध्यपुर मध्यपुर ठिमी नगरपालिकाले अनुशासित टिमको उपाधि जित्नै ५० हजार रुपियाँ पायो । यस्तै सर्वोत्कृष्ट खेलाडी गोदावरीका पासाङ तामाङ हुनुभयो ।
सर्वाधिक गोल कर्ता गोदावरीका अरुण लामा, इमर्जिङ प्लेयर गोदावरीका समीर तामाङ, गोदावरीकै विवेक सिलवाल उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक काठमाडौँका सरोज तामाङ र उत्कृष्ट प्रशिक्षक काठमाडौँका सन्तोष न्यौपानेले हुनुभयो ।
उत्कृष्ट सबैलाई जनही २५ हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितामा उत्यकाका १३ पालिकाले भाग लिएका थिए ।