• ३ जेठ २०८२, शनिबार

बागलुङमा हावाहुरीले आधा दर्जन घरमा क्षति

blog

बागलुङको निसीखोला गाउँपालिकामा हावाहुरीले क्षति पुर्‍याएको घर । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), जेठ ३ गते ।
बागलुङमा हावाहुरीका कारण आधा दर्जन घरमा क्षति पुगेको छ । निसीखोला गाउँपालिका वडा नं. १ लेवाङमा शुक्रबार दिउँसो हावाहुरीसँगै आएको वर्षातले आधा दर्जन घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो । हावाहुरीले टिनका घरको छानोमा क्षति भएको छ । 

प्रहरी निरीक्षक बस्नेतका अनुसार निसीखोला–१ का देवबहादुर विक, भिम बहादुर विक, रिमबहादुर विक, भोटबहादुर विक, रामु विक, प्रेम विक र होमबहादुर विकको घरमा क्षति पुगेको छ । घरको टिनको छानो पूर्ण रुपमा उडाएर बस्न नमिल्ने भएको छ । 

घरमा बस्न नमिल्ने गरी क्षति पुगेपछि उनीहरु आफन्तकोमा आश्रय लिएर बसिरहेको निसीखोला–१ का वडाअध्यक्ष चन्द्रसिंह रामजालीले जानकारी दिनुभयो । ‘‘हावाहुरीले आधा दर्जन घरपरिवार विस्थापित हुनुभएको छ । हावाहुरीसँगै वर्षात भएकोले घरमा बस्न नमिल्ने गरी क्षति भएको छ,’’ वडाअध्यक्ष रामजालीले भन्नुभयो, ‘‘उहाँहरुलाई आफन्तकोमा आश्रय लिएर बस्नुभएको छ ।’’

शुक्रबार वर्षातको कारण घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको विवरण यकिन गर्न नसकिएको वडाअध्यक्ष रामजालीको भनाइ छ । उहाँले शनिबार प्रहरी पुगेपछि घटनाको मुचुल्का गर्ने र क्षतिको विवरण बताउनुभयो । वडाले पीडित परिवारलाई राहतको व्यवस्था गर्ने वडा अध्यक्ष रामजालीले जानकारी दिनुभयो ।