• ३ जेठ २०८२, शनिबार

भैरहवामा प्रथम माननीय कप हुँदै

blog

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्बिर : श्याम शंकर पाण्डे

श्यामशङ्कर पाण्डे
लुम्बिनी, जेठ ३ गते ।
रुपन्देहीको भैरहवामा क्षेत्र नम्बर ३ (१) अन्तर्गत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । क्षेत्रअन्तर्गत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरी २० टीमबिच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरिबहादुर बिष्टले टेनिस बलले १० ओभरको खेल खेलाइने जानकारी दिनुभयो ।

रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयको विशेष पहलमा युवाहरुबिच सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार र उपविजेताले २५ हजार र ट्रफी पुरस्कार प्राप्त गरिने छ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोषकुमार पाण्डेयले खेलाडी उत्पादनसँगै युवाहरुलाई दुर्व्यसनबाट जोगाउनका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । उहाँले खेल पर्यटनबाट यो क्षेत्रको विकास गर्न सकिने सोचसहित प्रतियोगिताको आयोजना गरेको उल्लेख गर्दै प्रदेशको उपस्थिति देखाउनलाई भए पनि खेलको आयोजना गरिएको बताउनुभयो ।  प्रतियोगिता जेठ ४ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।