रामकृष्ण बोहरा
बागलुङ, जेठ १ गते । आफ्ना नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको बागलुङको गलकोट नगर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । विशेषगरी गर्भवती, गम्भीर दुर्घटनाका घाइते, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई दाताको सहयोगमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रले राहत दिने छ ।
गलकोट नगरपालिका, श्रीपाली बस्नेत समाज नेपाल काठमाडौँ र गलकोट बागलुङका बस्नेतहरूको सहकार्यमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको (गलकोट युनिट)ले सञ्चालन गर्ने छ । बुधबार एक कार्यक्रमकाबिच रक्तसञ्चार केन्द्र रेडक्रसलाई हस्तान्तरणसँगै उद्घाटन गरिएको छ ।
श्रीपाली बस्नेत समाज र गलकोट बागलुङका बस्नेतहरूले रक्तसञ्चारका लागि आवश्यक १३ लाख ९८ हजार रुपियाँका उपकरणहरू र गलकोट नगरपालिकाले भौतिक पूर्वाधार उपलब्ध गराएपछि अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको हो । समाजले केन्द्र व्यवस्थापनका लागि २ लाख ८० हजार ३ सय ४१ रुपियाँ उपलब्ध गराएको छ । १४ लाख ८० हजार रुपियाँ लागतमा निर्मित भवनबाट रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको हो ।
श्रीपाली बस्नेत समाज काठमाडौँको समन्वयमा गलकोट बागलुङका बस्नेतहरूले स्वइच्छाले रकम सङ्कलन गरी अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि उपकरण उपलब्ध गराईएको श्रीपाली बस्नेत समाज भैसे गलकोटका सचिव देवेन्द्र सिंह बस्नेतले जानकारी दिनुभयो । श्रीपाली बस्नेत समाजको समन्वयमा गलकोटको नरेठाँटी, चरौंदी र हरिचौरमा रहेका बस्नेत समुदायबाट रकम सङ्कलन गरिएको सचिव बस्नेतले बताउनुभयो ।
रगत अभावका कारण बिरामी रेफर गर्नुपर्ने बाध्यता रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अन्त्य भएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताउनुभयो । ‘‘ब्लड बैँक नहुँदा प्रभावित हुँदै आएको शल्यक्रिया सेवा पनि अब सहज हुने छ,’’ डा. पौडेलले भन्नुभयो । मध्यपहाडी लोकमार्गमा हुने सवारी दुर्घटनाका घाइतेहरूलाई बचाउन पनि ब्लड बैँकले ठुलो भूमिका खेल्ने डा. पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
‘‘शल्यक्रिया गर्नुपर्ने जटिल बिरामीहरूलाई रेफर गर्नुपर्ने बाध्यता थियो, ब्लड बैँकले प्रत्यक्ष रक्तदाता खोज्नुपर्ने समस्या पनि टरेको छ,’’ डा. पौडेलले भन्नुभयो । रक्तसञ्चार केन्द्र नहुँदा कतिपय बिरामीहरूले भोग्नुपरेको सास्ती हटेको डा. पौडेलको भनाइ छ । नगर अस्पतालमा तत्काल रगत नपाउने र समूह नमिल्दा बिरामीको उपचारमा समस्या हुने गरेको थियो ।
रक्तसञ्चार केन्द्रमा तत्कालका लागि अस्पतालमा उपलब्ध जनशक्तिबाट काम चलाइने र बजेटको व्यवस्था गरी नयाँ कर्मचारी भर्ना गरिने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । गैरेले नगरपालिकाको सफल नेतृत्वकै कारण गलकोटले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा फड्को मारेको चर्चा गर्दै ब्लड बैँकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी नगरपालिकाको रहेको बताउनुभयो ।
बस्नेत समाजका सल्लाहकार प्रेमसिंह बस्नेतले ब्लड बैँकका लागि उपलब्ध गराईएका उपकरणको सदुपयोग गर्दै बिरामीलाई स्थानीय स्तरमै उपचारको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी बागलुङका उपाध्यक्ष राजेन्द्र आचार्यले नगर प्रमुख गैरे, अस्पतालका डा. राजेश पौडेल र श्रीपाली बस्नेत समाजका सल्लाहकार प्रेमसिंह बस्नेतलाई रक्तसञ्चार केन्द्र सञ्चालन अनुमति पत्र हस्तान्तरण गर्नुभएको थियो ।