गोरखापत्र समाचारदाता
काठमाडौँ,जेठ १ गते । नेतृ डा. बिन्दा पाण्डेको नयाँ कृति ‘भुइँमान्छे’ बारे विमर्श कार्यक्रम आयोजना गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा कृतिमाथि पूर्वमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘भुइँमान्छे’ को वास्तविक कथा खोज्न लेखक पाण्डेले भुइँसम्म पुगेर गरेको प्रयत्नको प्रशंसा गर्नुभयो । उहाँले विगतमा पार्टी निर्माणका क्रममा गाउँ गाउँमा भेटिएका सेल्टरदाताले प्रशासनको आँखा छलेर आफ्नो ज्यान र सम्पत्तिसमेत दाउमा राखेका नेता, कार्यकर्तालाई आफूले नखाई गरेको सहयोगलाई ‘भुइँमान्छे’ ले सम्झाएर जीवन्त बनाएको बताउनुभयो । सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘भुइँमान्छे’ ले इतिहासलाई अभिलेखीकरण गरेको बताउँदै हिजोको सङ्घर्ष र तत्कालीन नेपाली समाजको ऐना झल्किने वास्तविकता नयाँ पुस्ताले समेत थाहा पाउने अवसर पाएको बताउनुभयो ।
लेखक डा. पाण्डेले पार्टीले इतिहासलाई अभिलेखीकरण गर्दै जाने योजना अनुसार नै लेखिएको ‘भुइँमान्छे’ तयार गर्दा विगतमा बास बसेका क्षेत्रमा पुगेर वास्तविक पात्रलाई पुनः भेट्ने अवसर पाएको बताउनुभयो । उहाँले पुस्तकमा केही नाम गलत परेकोमा आगामी अङ्कमा सच्याउने प्रतिबद्धता जाहेर गर्दै ‘भुइँमान्छे’ लाई पढेर छिन्ताङलगायत केही स्थानका नागरिकले हाम्रातिरको कुरा छुटेछन् भनेर दिएको प्रतिव्रिmयालाई समेत पूरा गर्ने बताउनुभयो । सञ्चारिका समूहका निवर्तमान अध्यक्ष विमला तुम्खेवाले डा. पाण्डेले नेपाली राजनीतिमा पु-याएको योगदानको कदर गर्दै उहाँको डोब पछ्याउँदै नयाँ पुस्ताले हिँड्नुपर्ने बताउनुभयो । उहाँले कृतिमार्फत समाज परिवर्तनको कथालाई पाठकमाझ पुर्याउन लेखक सफल भएको बताउनुभयो ।