रामकृष्ण बोहरा
बगलुङ, वैशाख ३१ गते । झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टील ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा ४४ लाख ६६ हजार सात सय ३७ रुपियाँ लागतमा निसीखोला गाउँपालिका वडा नं. ४ बोहरागाउँको करिखोला घाटमा ७४ मिटर लम्बाईको झोलुङ्गे पुल, २५ लाख ८६ हजार आठ सय एक रुपियाँ लागतमा ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङको ढोरपाटन उपत्यकाको उत्तरखोलामा २४ मिटर र ढोरपाटन ९ खुङ्गाको चिनीखोला घाटमा २४ लाख १९ हजार २३ रुपियाँको लागतमा ३२ मिटर लामो स्टिल ट्रस्ट पुल निर्माण गरिएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा जैमिनीमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । जैमिनी १० राङखानीको देउराली घाटमा २८ लाख ९२ हजार दुई सय ६१ रुपियाँको लागतमा ५७ मिटर र राङखानी–बरेङ गाउँपालिका जोड्ने फलाटे घाटमा ४० लाख एक हजार ३५ रुपियाँको लागतमा सोही लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएको हो । यसअघि जिल्लाका ढोरपाटन, बरेङ र ताराखोला गाउँपालिकामा दस झोलुङ्गे पुल थपिएका थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्दै आएका छन् । नेपाल सरकार र स्वीस सरकारबिचको सम्झौताअनुसार पुल निर्माण गरिएको हो । कार्यक्रम संयोजक केसीका अनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने गरिएको छ । झोलुङ्गे पुलको परिचय बनाएको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज हुने भएको छ ।
सङ्घीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कुल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको केसीले जानकारी दिनुभयो ।
यो वर्ष पाउजेघाट, काठेखोलामा दोबिल्ला–चनौटेघाट र ढोरपाटन नगरपालिका वडा नं. ६ गादीखोलाको ठुलो बिसौनीघाटमा पुल निर्माणको काम चलिरहेको छ । ६१ मिटर लम्बाइको पाउजेघाट पुल ३९ लाख ४८ हजार नौ सय ५५, ३२ मिटरको दोबिल्ला–चनौटेघाट स्टील ट्रस्ट पुल २८ लाख २३ हजार ६ सय एक र एक सय पाँच मिटर लामो ठुलो बिसौली घाट झोलुङ्गे पुल ४९ लाख ६० हजार दुई सय ५० रुपियाँको लागतमा निर्माण हुन लागेको हो । यि तीन पुल बन्दा सो क्षेत्रका साढे ६ हजारभन्दा बढी नागरिक लाभान्वित हुने छन् ।
आगामी आर्थिक वर्षमा सात पुल निर्माण गर्नेगरी बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा सर्वे गरिएको छ । बागलुङ नगरपालिकाको भिमिराघाट, गलुवा बुकेनी–गलुवा घाट, सौर्य–गहते घाट, काठेखालाको सिमघाट, तङ्ग्राम–हिले–कुथुर्के घाट र बरेङको पानीखाने घाट खोलामा पुल निर्माणको लागि सर्भे गरिएको संयोजक केसीले जानकारी दिनुभयो ।