निराजन परियार
चौमाला (कैलाली) वैशाख ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा अझै नाम टुङ्गो लगाउन सकेका छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई जिम्मेवारी दिइएको भए पनि नाम सहमति हुन नसकेको हो ।
मन्त्रालयका लागि मन्त्री चयन गर्न बसेको बसेको सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा संसदीय दलको बैठकले सो जिम्मेवारी दिएको हो ।
यसअघि पार्टीबाट लक्ष्मण किशोर चौधरीले सो मन्त्रालय सम्हाल्दै आएका थिए । तर वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको अडियो सार्वजनिक भएपछि चौधरीले राजीनामा दिएका थिए । बैठकले आजसम्म नाम टुङ्गो लगाउन रञ्जिता र रेशमलाई आग्रह गरेको छ ।
सो ठाउँमा मन्त्री पठाउन पार्टीमा केही दिनदेखि रस्साकस्सी चलेपछि टुङ्गो लगाउन सकेको छैन । रेसम चौधरीले आफ्नो पक्षबाट मन्त्री बनाउन चाहेका छन् भने रञ्जिता श्रेष्ठले आफ्नो पक्षबाट बनाउन चाहेका कारण समस्या भएको एक नेताले बताउनुभयो । यही विषयमा कुरा नमिलेको कारण मन्त्री चयन गर्न नसकेको बताइएको छ । दुई जनाका कारण मन्त्री चयनमा ढिलाइ भएको कारण यसको टुङ्गो लगाउन दुवै जनालाई नै जिम्मेवारी दिइएको हो ।
लक्ष्मण चौधरीले चैत १३ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसयता पार्टी मन्त्री चयनका लागि पटक पटक गृहकार्य भएको हो । तर दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि निर्णय हुन नसकेको स्रोतले दाबी गरेको छ ।