विजयकुमार साह
ढल्केबर, वैशाख २९ गते । धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
स्थानीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि अचानक स्वास्थ्य समस्या देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले खाजामा बाँडिएको बुनिया, रसबरीलगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताउनुभयो ।
उहाँका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए । विवाहको स्वयम्बर कार्यक्रम सकिएलगत्तै खाजा वितरण गरिएको थियो । खाजा खाएपछि केही बेरमै धेरैजनालाई स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लैजाने क्रम सुरु भएको थियो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म ४५ जना प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् । अन्य बिरामी विभिन्न क्लिनिक तथा निजी अस्पतालहरूमा उपचाररत छन् ।” केही बिरामी भने सामान्य उपचारपछि घर फर्किएको उहाँको भनाइ छ ।
जनस्वास्थ्य प्रमुख यादवले खाजाको घटनास्थलबाट खाजाको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताउनुभयो । परीक्षणपछि खाजा कसरी बिषाक्त भएको भन्ने विषयमा निष्कर्ष आउने उहाँले जानकारी दिनुभयो ।