लुम्बिनी, वैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
‘‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं, उहाँहरूसँग पनि कुरा गर्यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’’
उहाँले बुद्धका उपदेश र शक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताउनुभयो ।
‘‘बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्त्व छ ।,’’ उहाँले भन्नुभयो ।
आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको बताउनुहुँदै यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको प्रधानमन्त्रीको भनाइ छ ।
‘‘यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुु पर्दछ र काम गर्नु पर्दछ । यस प्रशंगमा केही शताब्दीहरू बितेपछि बुद्धिजम् फैलिने क्रममा कतै पुुग्यो र महायानको रूपमा रह्यो, कतै पुुग्यो थेरवादको रूपमा रह्यो, कतै पुुग्यो बज्रयानको रूपमा रह्यो ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘सबै यानका सानातिना भिन्नताहरु भए पनि मूल कुरा बुद्धका उपदेश हुन्, शान्तिका उपदेश हुन्, मानवतावादका उपदेश हुन् र करुणाका उपदेश हुन् । त्यसकारण मुख्य कुरा यसमा हामी जानुु पर्दछ र डिफरेन्सेसमा होइन । बुद्धका मुख्य उपदेशहरू र आर्दशहरूलाई हामीले समाउनुु पर्दछ ।’’
यसैगरी, उहाँले लम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको बताउनुभयो ।