बागमती प्रदेशमा मुलुककै सबैभन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्था सञ्चालनमा छन् । केन्द्र सरकारको राजधानी यही प्रदेशमा भएकाले पनि ठुला सरकारी, निजी तथा मेडिकल कलेज र अन्तर्राष्ट्रिय स्तरको उपचार प्रदान गर्ने अस्पताल यहीँ छन् ।
पछिल्लो दशकमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र सेवा विस्तार भएको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै अस्पताल र सेवा विस्तार भएको जिल्ला चितवन हो । चितवनको पनि भरतपुरमा दुई वटा शिक्षण अस्पताल, भरतपुर केन्द्रीय अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रदेशकै उच्च सेवा दिँदै आएको रत्ननगर बकुल्लहर अस्पताल, निजी ठुला लगानीका दर्जनौँ अस्पतालले भरतपुरलाई ‘मेडिकल सिटी’ का रूपमा चिनाएको हो ।
भरतपुर अस्पताल
काठमाडौँको वीर अस्पतालपछि सबैभन्दा धेरै बिरामीको उपचार गर्ने र थापाथलीपछि धेरै सुत्केरी गराउन आउने भनेर परिचित भरतपुर अस्पताल हो । अस्पतालले विभिन्न विषयमा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा विभिन्न १० वटाभन्दा धेरै भवनबाट बिरामीको सेवा दिइरहेको छ । सरुवा रोगका लागि अलग्गै अस्पतालको भवन निर्माणको अन्तिम चरणमा रहेको छ । मुटु, मिर्गौला, टाउको, स्पाइनल इन्जुरी, मानसिक स्वास्थ्य, जलन, एमआरआई क्याथल्याब, निःसन्तानसम्बन्धी दर्जनौँ विशिष्टीकृत सेवा अस्पतालले सञ्चालन गरेको छ । अहिले दैनिक दुई हजारभन्दा धेरै बिरामीले ओपिडी टिकट काट्दै आएका छन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आगामी दिनमा छिट्टै शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको बताउनुभयो । अस्पतालमा शैक्षिक कार्यक्रम अन्तर्गत बिएन, बिएमएस, बिएस्सी सञ्चालनमा रहेको छ भने चिकित्सा शिक्षा अध्ययनसमेत गर्ने गरी तयारीमा रहेको जानकारी दिनुभयो । अस्पतालमा छ सयभन्दा धेरै शøया सञ्चालनमा छन् । १६ सयभन्दा धेरै स्वास्थ्यकर्मी तथा कर्मचारी रहेका छन् । चितवन मेडिकल शिक्षण अस्पताल, भरतपुर कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले विशेषज्ञसहितका सात सयभन्दा बढी शøया सञ्चालनमा रहेको छ ।
देशकै ठुलो क्यान्सर अस्पताल
क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार गर्ने देशकै ठुलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालको मात्र नभएर भारतका विभिन्न स्थानबाट उपचार गर्न आउने गरेका छन् । अस्पतालले पोखरा, सुर्खेत, धनगढीमा विस्तारित सेवामार्फत बिरामीले उपचार गर्न थालेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले विस्तारित सेवा अन्तर्गत सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालबाट क्यान्सरको सेवा गत वर्षबाटै सुरु भएको जानकारी दिनुभयो ।
त्यसैगरी कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रादेशिक अस्पताल र गण्डकी प्रदेशको राजधानी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट क्यान्सरको सेवा सञ्चालनमा आएको छ । अस्पतालमा कतिपय निःशुल्क हुने कति थोरै खर्च लाग्ने बिरामीका लागि धेरै दिन लगाएर भरतपुर आउनुपर्ने बाध्यता हटाउन सेवालाई विस्तारित गरेको छ । अस्पतालले क्यान्सरसम्बन्धी सबै उपचार, सबै शल्यक्रिया गर्दै आएको छ । यहाँ ४५० शय्या सञ्चालनमा रहेको छ भने केही महिनाभित्रै ५५० बनाउने तयारी रहेको छ । दैनिक ८५० जना बिरामी उपचारका लागि आउने गरेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।
भरतपुर आँखा अस्पतालमा चिकित्सा अध्ययन
आँखासम्बन्धी उपचार मात्र होइन, चिकित्सा शिक्षा अध्ययनसमेत भरतपुर आँखा अस्पतालले गर्दै आएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित अस्पतालमा दृष्टि विज्ञानसम्बन्धी स्नातक तहको अध्ययन हुँदै आएको हो । अहिले छैटौँ समूहले अध्ययन गरिराखेको नेपाल नेत्रज्योति सङ्घ चितवनका कार्यबाहक अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
अस्पतालले सिन्धुली, धादिङ, पर्सा, नवलपरासीलगायतका स्थानमा तीन वटा शल्यक्रियासहितको अस्पताल र १९ वटा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनका सचिव केशव अधिकारीले व्यवस्थापनमा अस्पताल आइएसओ सर्टिफाइट भएको जानकारी दिनुभयो । अस्पतालका विभिन्न शाखासहित दैनिक एक हजार दुई सय बिरामीले ओपिडीमा सेवा लिँदै आएका छन् ।
प्रदेश स्तरीय बकुल्लहर रत्ननगर अस्पतालमा मिर्गौला रोगीका लागि डायलासिससहित अन्य विशिष्ट उपचार हुँदै आएको छ । अस्पतालमा छालासम्बन्धी गुणस्तरीय उपचार हुने भएपछि गण्डकी, बागमती, लुम्बिनी, मधेश प्रदेशबाट यहाँ उपचार गराउन आउने गरेका छन् ।
रोजगारीको अवस्था
प्रदेश सरकारबाट सर्भेक्षण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि साबिक जनशक्तिमा थप गरेको छ । अहिले ६८९ जना जनशक्तिको दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य मन्त्रालय र अन्तगर्तका निकायमा स्वीकृत दरबन्दीमा हाल एक हजार ५७१ जना स्थायी जनशक्ति कार्यरत छन् । अस्पताल तथा आयुर्वेद चिकित्सालयमा प्रदेश सरकारबाट अस्थायी र व्यवस्थान समितिमार्फत आवश्यकता अनुसार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । जनस्वास्थ्य कार्यालयमा पनि कार्यबोझका आधारमा करारमा जनशक्ति व्यवस्थापन गरिएको छ । साथै सङ्घीय सरकारमार्फत खटाइएका सयौँ छात्रवृत्ति करारका जनशक्तिले बागमती प्रदेशका विभिन्न कार्यालयमा रोजगारी पाएका छन् ।
काँचुली फेरेको हेटौँडा अस्पताल
प्रदेश राजधानी रहेको हेटौँडामा प्रदेशमातहतको सरकारी अस्पतालले काँचुली फेरेको छ । १० वर्षअगाडि र अहिलेको उपचारमा भएको परिवर्तन सेवाग्राही आफैँले महसुस गर्न थालेका छन् । विसं २०१५ मा दुईकोठे भवन र १५ शय्याबाट सुरु भएको यो अस्पतालको सेवा अहिले सयौँ शय्या र दक्ष चिकित्सकको सेवामा परिणत भएको छ । बागमती प्रदेश सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको प्रादेशिक हेटौँडा अस्पताल बिरामीको भरपर्दाे र विश्वासिलो रूपमा परिचित छ । केही समयअघि मात्र रिफर अस्पतालका रूपमा चिनिएको थियो । प्रदेश सरकारको स्वामित्वमा आएपश्चात् विकासको तीव्र गतिमा बढेको हो ।
हेटौँडा अस्पतालको पुरानो भवन साँघुरो भएपछि सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न केही समयअगाडि नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको नवर्निमित भवनको २०७९ फागुन ९ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
नयाँ भवन निर्माणसँगै अस्पतालले सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुका साथै आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्दै सर्वसुलभ उपचार प्रदान गर्दै आइरहेको छ । हेटौँडा अस्पतालमा बहिरङ्ग सेवामा मात्र दैनिक १२ देखि १५ सयसम्म बिरामी सेवा लिन आउने गरेका छन् । अस्पतालमा हाल तीन सय शय्या सञ्चालनमा छन् । हेटौँडा अस्पतालको स्तरोन्नति बढेसँगै सेवाग्राहीको चाप पनि बढ्दो छ । अस्पतालमा चितवन, बारा, पर्सा, रौतहट, सर्लाही तथा अन्य छिमेकी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।
अस्पतालले डायलासिस, सिटी स्क्यान, एमआरआई, इसिजी, एएसयु, ओसिएमसी, एआरटी, इको, टिएमटी र हल्टरलगायतका विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै हाडजोर्नी, बालरोग, प्रसूति, दन्त, फिजिसियन, नाक, कान, घाँटी, शल्यक्रिया, मनोरोग, आयुर्वेद, नेफ्रोलोजिस्ट र मुटुरोगसम्बन्धी सेवा दिँदै आइरहेको छ ।
अस्पतालले गत फागुन २७ देखि मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा हाल दैनिक ५० जना बिरामी मुटु जाँच गर्न आउने गरेका छन् । अस्पतालले बिरामीलाई निःशुल्क रूपमा गर्भवती सेवा, हर्नियालगायत गरिब विपन्न र निमुखाका लागि सामाजिक सेवा सञ्चालन गरिरहेको छ ।
केही समयअगाडि सिन्धुपाल्चोक घर भएका महेशसागर श्रेष्ठ हेटौँडा अस्पतालमा परीक्षण गराउन आउनुभयो । कामको सिलसिलामा हेटौँडामा रहनुभएका श्रेष्ठ हेटौँडा अस्पतालको सेवासुविधा राम्रो रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “शरीरमा सामान्य बिसन्चो भएको छ । हेटौँडामा रहेकाले डेङ्गु हो कि भन्ने शङ्काले यहाँ जाँच गराउन आएको हुँ । अस्पताल भरपर्दो छ भन्ने चर्चा पहिले नै सुनेको थिएँ । अहिले आफैँले यहाँको सेवा उपभोग गर्न पाउँदा त झन् धेरै राम्रो लाग्यो ।”
हेटौँडा–९ की बिना तिवारीले श्रीमान्को यही अस्पतालमा उपचार गराउनुभएको थियो । श्रीमान्को मधुमेह बढेपछि अस्पतालको आइसियु कक्षमा उपचार गराउनुभएको थियो । उहाँ हेटौँडा अस्पतालमा सबै सेवा उपलब्ध भएकाले अन्यत्र धाउन नपर्ने भएकाले ढुक्क भएर यहीँ उपचार गराएको बताउनुहुन्छ । पहिलेको र अहिलेको हेटौँडा अस्पतालमा आकाश जमिनको फरक छ । अस्पतालले अब बिमाबाहेक अत्यावश्यक औषधि पनि अस्पताल परिसरभित्रै सहुलियतमा उपलब्ध हुने व्यवस्था गर्न सेवाग्राहीले माग गरेका छन् । अस्पतालमा पाँच सय कर्मचारीले सेवा दिँदै आइरहेको अस्पतालका व्यवस्थापक सुरेशदेव बडुले जानकारी दिनुभयो । “मेडिकल अफिसर ६६ जना र ४४ जना कल्सल्टेन्ट डाक्टरद्वारा सेवाग्राहीलाई सुविधा दिँदै आएका छौँ । अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवा दिँदै आइरहेको छ,” उहाँले भन्नुभयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष भीमसागर गुरागाईं २०१६ सालमा १५ शय्याबाट सुरु भएको हेटौँडा अस्पतालको सेवाले हाल हेटौँडाको स्वास्थ्य क्षेत्रको विकासमा फड्को मारेको बताउनुहुन्छ । अस्पतालमा सेवा थप्ने क्रम जारी छ र अब छिट्टै एनआइसियु, टिएनआइसियु सेवा थप गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जलनसम्बन्धी उपचार विस्तार गर्ने छौँ । हामीले महिलामा हुने स्तन क्यान्सर परीक्षण गर्ने ‘म्यामाग्राम’ सर्भिस सुरु गर्ने भएका छौँ । यसअघि दुई सिफ्टमा सञ्चालित डायलासिस सेवालाई थप विस्तार गरी तीन सिफ्टमा लगेका छौँ । अस्पतालमा नसासम्बन्धी न्युरोलोजिकल सर्भिस अन्तर्गत ठुला ठुला शल्यक्रिया सुचारु भइसकेका छन् ।”
आगामी दिनमा दुई सय शय्या थप गरी पाँच सय शय्याको अस्पताल निर्माण गर्ने योजनामा अस्पताल परिवार लागि परेको छ । एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ । आगामी महिनाबाट एमडीको कक्षा सञ्चालन हुँदै छ । उहाँका अनुसार हेटौँडा अस्पतालको स्तरोन्नतिमा हेटौँडा उपमहानगरपालिकाको भूमिका पनि उत्तिकै रहेको छ । उपमहानगर र हेटौँडा अस्पतलबिचको सहकार्य उल्लेखनीय छ । उपमहानगरले मातृ तथा नवजात शिशु स्याहार कक्षका निम्ति अस्पतालको तेस्रो तलामा भवन निर्माण गरिरहेको छ । डायलासिस सेवाका लागि मेसिनका साथै जनशक्ति निर्माणमा उपमहानगरपालिको सहयोग प्राप्त भएको छ । “हामीले दिनमा ३० वटा डायलासिस सेवा विस्तारको लक्ष्य लिएका छौँ । हाल दिनमा १३ वटासम्म डायलासिस हुने गरेको छ । यसका लागि हामीले उपमहानगरसँग पाँच करोड बजेट माग गरेका छौँ । उपमहानगरले यसप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ,” उहाँले भन्नुभयो ।
आठ वटा निजी अस्पताल
सरकारी अस्पतालबाहेक हेटौँडामा आठ वटा निजी अस्पताल सञ्चालनमा छन् । सरकारी अस्पतालमा पालो कुर्नुपर्ने, समयको अभाव भएका र निजीमा जान चाहनेका लागि यस्ता अस्पतालले सेवा दिएका छन् । निको हस्पिटल, न्यु मोडल हस्पिटल, मकवानपुर सहकारी, सन्चो हस्पिटल, चुरेहिल हस्पिटल, सिद्धथली हस्पिटल, हेटौँडा सिटी हस्पिटल र हेटौँडा आँखा अस्पताल सञ्चालनमा छन् ।
बागमती प्रदेश सरकारले मकवानपुरलगायत बागमती प्रदेशका १२ जिल्लामा प्रादेशिक अस्पताल सञ्चालनमा ल्याएको छ । भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, वज्रवाराही चापागाउँ अस्पताल, रसुवा अस्पताल, जिल्ला अस्पताल रामेछाप, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईं स्मृति अस्पताल, बकुलहर रत्ननगर अस्पताल, मेथिनकोट अस्पताल र चौतारा अस्पताल प्रदेश सरकारले सञ्चालन गरेका अस्पताल हुन् । यी अस्पतालमा सेवालाई विस्तार गर्ने र गुणस्तीय उपचारको व्यवस्था भइराखेको स्वास्थ्यमन्त्री किरण थापामगर बताउनुहुन्छ ।