रामकृष्ण बोहोरा
बागलुङ, वैशाख २८ गते । निसीखोला गाउँपालिका–५ को निसेलढोर कृषि उत्पादनका लागि उर्वर भूमिका साथै प्राकृतिक रूपले मनमोहक उपत्यका हो । पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको निसेलढोरमा अत्यधिक जाडो बढेपछि यहाँका बासिन्दा बेँसी अर्थात् निसी झर्छन् । अन्य समय निसेलढोरमै बसेर आलुखेती गर्छन् ।
पशुपालन यहाँका बासिन्दाको अर्को मुख्य पेसा हो । निसेलढोरमा मात्रै झन्डै चार सय घरटहरा छन् । स्थानीय सुमन घर्तीमगरले भन्नुभयो, “हाम्रो मुख्य पेसा कृषि र पशुपालन हो । सडक सञ्जालको सहज पहुँच भइदिए किसानको उत्पादनले राम्रो बजार पाउँथ्यो ।” परम्परागत रूपमा स्याउ खेती गर्दै आएका किसानलाई गाउँपालिकाले दुई वर्षअघि फुजी र गोल्डेन स्याउको बिरुवा वितरण गरेको थियो ।
रोपिएका बिरुवाले फल दिन थालेपछि किसान उत्साहित छन् । स्याउ किसानको बारीमै पुगेका निसीखोला गाउँपालिकाको कृषि शाखाका कृषि प्राविधिक ताराबहादुर परियारले यहाँको स्याउको स्वाद मिठो भएको बताउनुभयो । गाउँपालिकाले इटालीबाट ल्याएको एक हजार ५० वटा बिरुवा अर्नाकोट र निसेलढोरमा रोपिएको थियो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको हो ।
घर्तीको बारीमा चार सय ठुला र एक सय नयाँ बोट छन् भने मित्रबहादुर घर्ती, गोमान नेपाली जस्ता किसान स्याउ खेतीमा उत्साहित छन् । यहाँका किसानले ग्रेडिङ गरेर प्रतिकेजी एक सय रुपियाँसम्ममा स्याउ बेच्ने गरेका छन् । स्याउ उत्पादन राम्रो भए पनि सहज सडक नहुँदा ढुवानी समस्या खेपेको घर्तीले अनुभव सुनाउनुभयो ।
फुजी जातको स्याउले राम्रो उत्पादन दियो भने पुराना बोट हटाएर निसेलढोरलाई फुजी स्याउको बगैँचामा परिणत गर्ने पालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले सुनाउनुभयो । घर्तीका अनुसार समुद्री सतहदेखि दुई हजार छ सय मिटरदेखि तीन हजार पाँच सय मिटरको भूगोलमा स्याउका बिरुवा लगाइएको छ ।
गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङको सहकार्यमा स्याउ उत्पादनका लागि माटो र बिरुवा परीक्षण, तालिम तथा बजारीकरणको काम गर्ने तयारी गरेको छ । ‘समस्यामा आधारित स्थलगत घुम्ती शिविर’ ले किसानको समस्या समाधान गर्ने कृषि प्राविधिक परियारले बताउनुभयो । त्यसका लागि पालिकाले बजेट र कार्यक्रम तय गरेको हो । स्याउ जोन सुहाउँदो जमिन र हावापानी भएकाले आवश्यक परे बजारीकरणमा किसानलाई साथ दिने पालिकाको योजना छ । निसेलढोरमा उत्पादित स्याउ स्थानीय बजार, बुर्तिबाङ र बुटवलमा बिक्री हुँदै आएको छ । स्याउ उत्पादन बढाउन निसेलढोरको विस्तृत अध्ययन गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।
निसीखोला–२, अर्नाकोटका ओमबहादुर रसाइलीको डेढ रोपनी जमिनमा एक सय स्याउका बिरुवा हुर्कंदै छन् । गत वर्ष केही बोटमा फल लागेपछि रसाइली खुसी हुनुहुन्छ । ती बिरुवामा यो वर्ष उत्पादन बढ्ने अनुमान छ । बजार अभाव नभए अर्नाकोटका सबै बारी र पाखोमा स्याउ लगाउने रसाइलीको योजना छ ।
रसाइलीका छिमेकी दुर्गाबहादुर ओलीको बारीमा पनि १२० स्याउका बिरुवा हुर्किरहेका छन् । अर्नाकोट दुई हजार छ सय मिटरको उचाइमा छ । अर्नाकोटका १५ जना किसानको थुम गोतामे कृषि तथा पशुपालन समूहमार्फत स्याउ खेती विस्तार गरेको रसाइलीले जानकारी दिनुभयो ।