• २७ वैशाख २०८२, शनिबार

पिएम कप एनभिए भलिबल लिग पोखरामा

blog

प्रतियोगिता बारे जानकारी दिँर्दै आयोजक ।

काठमाडौँ, वैशाख २७ गते । पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग पोखरामा हुने भएको छ । नेपाल भलिबल सङघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने छ । 

पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्ने छन् ।लिगको दुवैतर्फ विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्टले २५/२५ हजार रुपियाँ पाउने छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रत्यके टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । लिगको अनुमानित बजेट ९० लाख रुपियाँ रहेको पनि भलिबल सङ्घले जनाएको छ ।