• ९ जेठ २०८१, बुधबार

बाजुरामा धान रोपाइँ शुरु

blog

बूढीगङ्गा नगरपालिका –९ सेरालबाडाका महिला सेराटाट्कामा धान रोपाँइ गर्दै । तस्विरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ २६ गते । बाजुरामा तीस प्रतिशत धान रोप्ने काम सम्पन्न भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको छ । जिल्लाका चार नगरपालिका र पाँच वटा गाउँपालिकाका अधिकांश ठाउँमा धान खेती हुनेगरेको छ । 

कृषि ज्ञान केन्द्र कार्यालयले यतिबेला बडिमालिका, बूढीनन्दा, त्रिवेणी खप्तड छेडेदह, बूढीगङ्गा लगायतका नगर तथा गाउँपालिकामा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको जानकारी दिएको छ । 

किसानहरुले सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो भएको बताएका छन् । केन्द्रले हालसम्म तीस प्रतिशत रोपाइँ सम्पन्न भएको बताएको छ । सुदूरपश्चिममा यसपालि मनसुन शुरु हुन ढिलाई भएपछि रोपाइँ केही ढिलो भइरहेको छ ।

बूढीगङ्गा नगरपालिका –९ का कौशल सेरालाले सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएपनि अन्यत्र समस्या भएको बताउनुुभयो । हाल सुुरु भएको रोपाइँ कार्य असारसम्म जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने बताउनुुभयो । 

पानी नपरेको कारण सिंचाइ सुविधा भएको खेतमा मात्र रोपाइँ सुुरु भएको स्थानीयको भनाइ छ । 

बाजुरामा दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयाेग्य छ । पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि  सिँचाइ हुनेगरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।