• २६ वैशाख २०८२, शुक्रबार

गाउँपालिका अध्यक्षसहितको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

blog

विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव ।

विनय कर्ण

सप्तरी, वैशाख २६ गते । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहितका तीन जना उपर सर्वोच्च अदालतमा पुगेको छ । 

भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको हो । यता यस मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । अधिकांश मुद्दा विशेष अदालतले चित्तबुझ्दो फैसला नगरेको भन्दै अख्तियार सर्वोच्च पुग्ने गरेका छन् । 

आधार प्रमाण र प्रलोभनमा परेर मुद्दा फैसला हुने गरेको आरोप पीडित पक्षको रहेको छ । गाउँपालिका अध्यक्ष यादव सहित लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव विरुद्ध आयोगले पाँच लाख रुपैयाँ बिगो तथा जरिवाना सजायको दाबीसहित विशेष अदालतमा मुद्दामा दायर गरेको थियो ।

२०८० चैत २३ मा विशेष अदालतले अध्यक्ष यादव तीनै जनालाई सफाइ दिएपछि सो फैसला त्रुटिपूर्ण रहेको उल्लेख गर्दै बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

आर्थिक वर्ष ०७९-०८० मा भएको २५ लाखको सोलार बत्ती जडान कार्यको भुक्तानी दिन सेवाग्राहीबाट विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र कुमार यादवले घुस मागेका थिए । अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित २०८०साउन ३१ मा उहाँहरूलाई पक्राउ गरेको थियो । 

अख्तियारका अनुसार यो प्रकरणमा गाउँपालिका अध्यक्ष यादवले आफ्नै घरमा बोलाएर घुसबारे बार्गेनिङ गरेको अडियो÷भिडियो सहितका प्रमाण अख्तियारले प्राप्त गरेपछि अध्यक्ष यादवको पनि संलग्नता रहेको भन्दै पाँच लाख रुपैयाँ बिगो सहित बिगो बमोजिम जरिवाना सजायसमेतको माग दाबी गरी विशेष अदालत, काठमाडौँमा उहाँहरूविरुद्ध आरोप पत्र दायर गरिएको थियो ।