• २६ वैशाख २०८२, शुक्रबार

‘हलमा दर्शक नआउनु भनेको डरलाग्दो हो’

blog

दीपेन्द्र के खनाल भावना र सम्बन्धमा डुबेर चलचित्र बनाउनेमा परिचित हुनुहुन्छ । चलचित्र ‘दी युगदेखि युगसम्म’ मार्फत निर्देशकीय फाँटमा प्रवेश गर्नुभएका खनालका पशुपति प्रसाद, धनपति, आमा, भस्मे डनलगायतका चलचित्र बक्स अफिसमा सफल छन् । खनाल चलचित्र ‘के घर के डेरा : घर नं. २’ प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । चलचित्र क्षेत्रको अवस्था र त्यसको सेरोफेरोमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले निर्देशकखनालसँग गर्नुभएको कुराकानी :

चलचित्र के घर के डेरा : घर नं. २ प्रदर्शनको तयारी कस्तो चल्दै छ ?

चलचित्र लगभग प्रदर्शनको तयारीमा छ । सबै काम सकिसकेको छ । जेठ २ गते  प्रदर्शनको मिति तय भएको छ । प्रचारप्रसार र दर्शकसँग साक्षात्कारका लागि तयारी अवस्थामा छौँ । 

अहिले हलमा दर्शक शून्य जस्तै देखिन्छ ? यस्तो बेला चलचित्र प्रदर्शन गर्दै हुनुहुन्छ, कत्तिको आशावादी हुनुहुन्छ ? 

नेपाली चलचित्रमा दर्शक देखिन छाड्नु डरलाग्दो कुरा हो । हलमा दर्शक किन आइरहेका छैनन् कसैले बुझ्न सकेका छैनन् । म आफैँ चलचित्र कसरी प्रदर्शन गर्ने भन्ने दुबिधामा छु । धेरै भइसक्यो हलमा खडेरी जस्तो देखिएको छ । दर्शकले हेर्न खोजेको जस्तो चलचित्र हामीले दिन नसकेकाले हो अन्य कुनै कारणले होस् दर्शक नआउनु भनेको डरलाग्दो नै हो । चलचित्रले दर्शकलाई पुनः एक पटक चलचित्र हलसम्म डो¥याउँछ भन्ने कुरामा म आशावादी छु । यद्यपि हलको माहोल हेर्दा स्थिति निराशाजनक नै छ ।

चाडबाडको समयमा चलचित्रले राम्रो व्यापार गर्ने तर अन्य समयमा दर्शक पाउन धौ धौ किन हुन्छ ?

चाडबाडपछि कुनै चलचित्र राम्रो चलेको छैन । दर्शकले हेर्न चाहनुभएको जस्तो चलचित्र प्रदर्शन नभएर हो कि ? अहिले हलको वेबसाइट हेर्‍यो भने सबै कुर्सी खाली जस्तो देखिन्छन् । यो आन्दोलनको कारणले हो कि, दर्शकको मनोविज्ञानका कारणले हो बुझ्न सकिरहेको छैन । मौसमका कारणले भनौँ भने खासै त्यस्तो असर गर्ने मौसम पनि छैन । दर्शकको टेस्ट अनुसार उहाँले हेर्न खोजेको कुरा हामीले दिन नसकेको हो कि ?

‘के घर के डेरा : घर नं. २’ कस्तो चलचित्र हो ?

यो घर हुने र घर नहुनेको कथा हो । यो पहिलाको ‘के घर के डेरा’ जस्तै व्यावसायिक तरिकाले बनाइएको छैन । अलिकति गम्भीर रूपमा कथा भन्न खोजिएको छ । कथाको बुनाई केही फरक ढङ्गको छ । घर डेरा भन्नेबित्तिकै त्यही घरबेटी र डेरावालको झगडा होला, त्यही त म होला भन्ने लाग्छ तर त्यो होइन । यो चलचित्र सम्बन्धमाथिको कथा हो । हामीले घरमा भाडामा मान्छे राख्दा कम्तीमा पनि दुई, तीन र चार जनाको परिवार बसेको हुन्छन् । चार परिवारसँग बस्दा चार परिवारका आआफ्नै कथा हुन्छन् । घरबेटी र डेरावालको ठोक्किएर बन्ने सम्बन्धको कथा हो, चलचित्र । 

चलचित्रमा प्रायः रङ्गकर्मीलाई अभिनय गराउनुहुन्छ । रङ्गकर्मीबाहेकका कलाकार नभेटिएर यस्तो भएको हो ? 

अन्य कलाकारसँगभन्दा रङ्गमञ्चबाट आएका कलाकारसँग काम गर्न सहज लाग्छ । रङ्गकर्मीले आफ्नो भूमिकालाई गम्भीर रूपमा लिने गर्नुहुन्छ । निर्देशक भएको हिसाबले मलाई त्यो कुरा लोभ लागिहाल्छ । यही कारणले पनि हुन सक्छ ।

अन्य निर्देशकभन्दा आफूलाई कहाँ फरक पाउनुहुन्छ ?

मैले कहिले एउटै किसिमको चलचित्र बनाएको छैन । मैले गर्ने चलचित्रमा जहिले पनि कथा, कलाकार र अन्य कुरा भिन्न दिन खोज्छु । म दर्शकलाई केही नयाँ कुरा दिन पाऊँ भन्ने आशा राख्छु । त्यसैले पनि दर्शकले यस्तो खोज्नु हुन्छ होला र त्यो  स्वाभाविक नै हो । मलाई  समाजमा लुकेका केही अँध्यारो पाटोलाई खोतल्न मन लाग्छ । यही कारणले दर्शकले मेरो चलचित्रमा केही फरक र सत्यतथ्यका कुरालाई हेर्न पाउनुहुन्छ । त्यसैले  दर्शकले मलाई अन्यभन्दा केही अलग भन्नुभएको हुन सक्छ ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘मेयर’ कहाँ पुग्यो ? 

हरिबहादुरको जुत्ता दसैँमा प्रदर्शन हुँदै छ भने मेयरको काम सुरु नै भएको छैनभन्दा पनि हुन्छ ।