बुङ्गल समाचारदाता
बझाङ, वैशाख २५ गते । सरकारले वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता योजना ल्याएको निकै वर्ष भयो तर नीतिगत सुधारका नाममा सरकारले भत्ता वितरणमा बैङ्किङ प्रणाली लागु गरेपछि भने बझाङलगायत दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने लाभग्राहीका लागि यो राहत होइन, उल्टै सास्ती बन्न थालेको छ ।
बुङ्गल नगरपालिका–२, मजिवनकी वृद्ध नर्मा धामी उमेरले ८० वर्ष पुग्नुभयो । वृद्ध उमेर खुट्टाले भर नमान्ने, आँखाले राम्रोसँग देख्न नसक्ने अवस्थामा हुनुहुन्छ । घरबाट बैङ्कसम्म पुग्न उहाँलाई एक दिनको पैदलयात्रा गर्नुपर्ने हुन्छ । “पहिले घरमै आएर भत्ता दिनु हुन्थ्यो, अहिले भने भत्ता पाउन दिनैभर हिँड्नुपर्छ,” उहाँले भन्नुभयो, “भत्ता ल्याउन गाडी खोज्नु पर्छ, खर्च लाग्छ, बैङ्कले वडा कार्यालयको सिफारिसका आधारमा चेकमा औँठाछाप लगाएर आफ्नो विश्वास गरेको मान्छे पठाएपछि दिने गरेको भए पनि कहिलेकाहीँ त परिवारकै सदस्यले आधा लिएर बाँकी मात्रै दिने गर्छन् ।”
यस्तै बुङ्गल–२, सलकाट्टेकी ८७ वर्षीय पटकीदेवी धामीको पीडा पनि उस्तै छ, उहाँ पहिले घरमै बसेर भत्ता लिनु हुथ्यो तर अहिले भने बैङ्कमै जानुपर्ने भएपछि गाउँलेहरूले उहाँलाई बोकेर खाता खोल्न लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिले त घरमै दिन्थे, अहिले बैङ्कबाट मात्र पाउने भएपछि गाउँलेले मलाई बोकेर खाता खोल्न लगाउनुभयो । लेखपढ आउँदैन, आँखा पनि धमिलो देख्छु । बैङ्क पुगेर भत्ता लिनु भनेको झन् पीडादायक छ ।”
बुङ्गल नगरपालिका–१, लौनेबाट वडा कार्यालयसम्म पाँच घण्टा हिँड्नुपर्ने र त्यसपछि साना सवारीमा चढेर बैङ्क पुग्न अझै दुई घण्टा लाग्ने अवस्था छ । वृद्धावस्थामा यस्तो कष्टपूर्ण यात्रा गर्नुपर्ने सयौँ लाभग्राहीको बाध्यता बनेको छ । स्थानीय सरकारमार्फत पहिले जस्तै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सहज हुने ग्रामीण क्षेत्रका लााभग्राहीको माग छ । “सरकारले भत्ता दिनु राम्रो हो, तर भत्ता लिनकै लागि दुःख पाउनुपर्ने भए त्यो राहत होइन, सजाय भयो जस्तो लाग्छ,” बुङ्गल नगरपालिका–२ की मजिवनकी अन्दाजी ८० वर्षीय पुनीदेवी धामीले गुनासो गर्नुभयो ।
साइपाल गाउँपालिका–४ धुलीकी ८१ वर्षीय इटोल लामा, वडा ५ की निउनाकी छमु लामा र धैले बोहोरा जस्ता वृद्धवृद्धा दुई÷दुई दिनको पैदलयात्रा गरेर खाता खोल्न धलौनस्थित बैङ्क पुग्नुपर्ने बाध्यतामा छन् । धुलीबाट बैङ्क भएको ठाउँ धलौन पुग्न दुई दिन पैदल हिँड्नु पर्छ, सरकारले घरमै भत्ता दिए खुसी हुन्थ्यौँ उहाँले भन्नुभयो । बझाङका प्रायः सबै पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणली सुरु गएिको भए पनि खातामा रकम आएको थाहा पाउन, बैङ्क पुग्न, चेक लेख्न, लाइन बस्न वृद्धवृद्धाका लागि अझै पनि यो प्रव्रिmया सहज छैन ।
सरकारको नीतिले डिजिटल प्रविधि र पारदर्शिता ल्याउने भनिए पनि विकट ग्रामीण बस्तीका वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई बैङ्कसम्म पुगेर भत्ता बुझ्नु झन् गाह्रो भएको छ । कतिपय अवस्थामा इन्टरनेटको समस्या, लाइनको भिड र घर फर्किने गाडी नपाउँदा वृद्धवृद्धा रित्तै फर्किनुपर्ने बाध्यता छ ।
साइपाल गाउँपालिकाले पनि पहिले घरमै गएर भत्ता वितरण गर्दै आएकोमा अहिले पालिकामा बैङ्क स्थापना भएपछि वडा नम्बर १ र २ का लागि बैङ्किङ प्रणालीमार्फत भुक्तानी दिने तयारी गरेको छ तर भौगोलिक कठिनाइका कारण सबै वडामा लागु गर्न सकिने अवस्था नरहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण अनिवार्य गरेको भए पनि भौगोलिक विकटताले सम्भव हुन सकेको छैन । लाभग्राहीको सहजताका लागि वडा नम्बर ३ देखि ५ सम्म भने घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था छ । बैङ्किङ प्रणालीबाटै वितणर गरे लाभग्राहीले पाउनेभन्दा बढी खर्च हुन्छ । बैङ्कनजिक रहेका वडा नम्बर १ र २ का नागरिकका लागि मात्रै बैङ्किङ प्रणालीबाट वितरण सुरु गर्ने तयारी गरेका छाँै ।”
सरकारले भत्ता वितरणमा पारदर्शिता र दुरुपयोग रोक्न बैङ्किङ प्रणाली अनिवार्य गरेको हो तर यस नीतिले बझाङका विकट क्षेत्रका नागरिकलाई उल्टै अप्ठ्यारोमा पारेको छ । साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोराका अनुसार, “नीति त राम्रो हो तर भूगोल अनुसार लचिलो हुनु पर्छ । हाम्रा वडाबाट बैङ्क पुग्न दुई दिन लाग्ने ठाउँमा वृद्धवृद्धालाई बैङ्क पठाउनु अन्याय हो ।”