अहिले हामी कस्तो परिस्थितिमा छौँ र विकसित परिस्थितिलाई कसरी बुझिरहेका छौँ । अथवा अर्को किसिमले भन्ने हो भने परिस्थितिलाई कसरी हेर्नु पर्छ वा कसरी बुझ्नु पर्छ । हामी प्रजातन्त्रको प्राप्तिदेखि गणतन्त्रको युगसम्म आइपुग्दा वा यस विषयको बहस वा छलफलमा भाग लिइरहँदा हामीले विभिन्न पक्षलाई बुझ्नु पर्छ । परिवर्तनका विभिन्न चरण पार गर्दै अहिले यो अवस्थासम्म कसरी पुगियो र यसलाई कसरी संस्थागत गर्नु पर्छ भन्ने विषय महत्वपूर्ण छ । यिनै विषयमा केन्द्रित रही केही विचार प्रस्तुत गर्न चाहन्छु ।
परिवर्तन वा विकासलाई कसरी बुझ्ने विकास वा परिवर्तनलाई अमूर्त, निरपेक्ष वा सोलोडोलो रूपमा बुझ्नु हुन्न वा बुझ्न सकिन्न । यसलाई अवस्था र परिस्थितिको सापेक्षतामा बुझ्न सकिन्छ वा बुझ्नु पर्छ । अर्थात् हामी परिवर्तनका कुन कुन र के कस्ता मोड पार गर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ । हामीले पार गर्दै आएका चरण कुन कुन हुन् ? मूलतः राजनीतिक परिवर्तनका मोडबारे वस्तुनिष्ठताका साथ जानकारी राख्नु पर्छ । आजको अवस्थालाई तुलनात्मक आँखाले हेर्न सक्नु पर्छ । राष्ट्र, जनताको जीवन र मुलुकको अर्थतन्त्रसित गाँसिएका विषयमा केन्द्रित रहेर अलग अलग शासनव्यवस्थामा भएका कुरालाई अगाडि राखेर विश्लेषण गरिनु पर्छ ।
२०४७ सालपहिले र अहिलेको विवेचनात्मक विश्लेषण
राजाको प्रत्यक्ष नेतृत्वमा निर्दलीय र निरङ्कुश शासनव्यवस्था थियो । जनताका अधिकार बलात् खोसिएका थिए वा सङ्कुचनमा पारिएका थिए । जनसरोकारका विषय वा विकासनिर्माणका कुरा अत्यन्त सुस्त गतिमा रहेका थिए । शान्त र सुन्दर भनिए पनि नेपाल संसारको एउटा विपन्न, अविकसित र बाहिरी दुनियाँबाट अलग अलग मुलुकको सूचीमा थियो । नेपालले संसारको अविकसित र गरिबतम मुलुकको अभिशप्त परिचय बोकेर बाँच्नु परेको थियो । केही महìवपूर्ण तथ्य तथा आधारमा टेकेर यो स्थितिसम्बन्धी निष्कर्ष निकालिएका हुन् । त्यसकालमा गरिबीको स्थिति के थियो र मुलुकको भौतिक प्रगतिको अवस्था तथा उद्योग तथा कृषि उत्पादन र त्यसले समग्र अर्थतन्त्रमा गरेको योगदानको स्थिति के थियो ? शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण विषय कुन सूचीमा परेका थिए ? महिला सशक्तीकरण, आय र उपभोगबिचको असमानता, मानव विकास तथा सेवा क्षेत्रको विस्तारको अवस्था आदिमा केन्द्रित रही तुलनात्मक विवेचना गर्नु पर्छ ।
नेपालको गरिबीको स्थिति विवेचना गर्दा २०४७ सालसम्मको अवस्था, २०५२ सालपछिको अवस्था, २०६८ साल र २०८० पछिको अवस्थालाई तुलना गरेर बुझ्नु पर्छ । २०५२ सालको तथ्याङ्कमा उल्लेख भए अनुसार गरिबी औसत ४२ प्रतिशत थियो भने २०८० सालमा आइपुग्दा २० प्रतिशतमा झरेको छ । यो त्यसबेला ४० उपभोग्य वस्तुको उपभोगमा आधारित भएर गरिएकोमा २०८० मा ती उपभोग्य वस्तुमा वृद्धि गरी ७२ वटा उपभोग्य वस्तुलाई आधार मानी निकालिएको तथ्याङ्क हो । ४० वटा उपभोग्य वस्तुका आधारमा तथ्याङ्क निकाल्ने हो भने ३.६ प्रतिशतमा गरिबी सीमित हुने छ । यो परिवर्तन निरङ्कुश राजतन्त्र र बहुदलीय प्रजातन्त्रबिचको भिन्नताको एउटा तस्बिर हो । गरिबी मापनको आधारमा उभिएर निकालिएको यो तथ्याङ्कले निरङ्कुश राजतन्त्र र बहुदलीय प्रजातन्त्र–सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको भिन्नतालाई देख्न सकिन्छ, बुझ्न सकिन्छ । भौतिक पूर्वाधारको विकासमा एउटा दृष्टान्त हेर्दा मात्र पनि दुइटा प्रणाली अन्तर्गत भएको विकासलाई बुझ्न सकिन्छ । २०४७ सालमा देशभर जम्मा नौ हजार किलोमिटर सडक रहेकोमा २०८१ सम्म आइपुग्दा एक लाख १० हजार किमी पुगेको छ । यो विस्तार तीन दशकमा १२ गुणा बढी हो । हवाई पूर्वाधारमा उल्लेखनीय वृद्धि भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति मात्र नभएर दर्जनौँ ठाउँमा हवाई मैदानको निर्माणका साथै निजी क्षेत्रका हवाई कम्पनी सञ्चालन हुन थालेका छन् । सञ्चार क्षेत्रमा त ऐतिहासिक परिवर्तन भएको छ । यो टेलिफोनको पहुँच, इन्टरनेट सुविधा, मोबाइल फोनको प्रयोग तथा जनस्तरमा प्रयोग हुने गरेका अन्य सञ्चार साधनबाट बुझ्न सकिन्छ । २०४७ सालसम्म जम्मा २२७ मेगावाट मात्र उत्पादन हुने गरेको विद्युत् अहिले ३४०० मेगावाट उत्पादन भइरहेको र निकट भविष्यमा हजारौँ मेगावाट उत्पादन हुने कुराको घोषणा गरिसकिएको छ ।
एउटा विशेष उल्लेखनीय कुरा के भने अहिले नेपालमा ९७ प्रतिशत जनताले विद्युत् सुविधा प्राप्त गरिरहेका छन् । अहिले ९५ प्रतिशत जनतामा आधारभूत पिउने पानीको सुविधा छ । आमनेपाली नागरिकको औसत आयु वृद्धि भएको (५५ वर्षबाट ७० वर्ष पुगेको) तथा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको कुराले लोकतन्त्रात्मक मुलुक प्रवेश गरिसकेपछिको सकारात्मक विकासक्रमलाई देखाउँछ । राजनीतिक क्षेत्रमा महिलाको सशक्त उपस्थिति लोभलाग्दो बनेको छ । जनप्रतिनिधित्वको क्षेत्रमा महिला प्रतिनिधित्व ४१ प्रतिशत पुग्नु विशेष उल्लेखनीय कुरा हो । महिलाको साक्षरता सङ्ख्यामा वृद्धि, सम्पत्तिमाथि महिलाको अधिकारमा उत्साहजनक प्रगति र सार्वजनिक सेवामा महिलाको प्रवेशलाई आरक्षणको व्यवस्था अत्यन्त सकारात्मक छ । सामाजिक सुरक्षाको विषय लोकतन्त्रको आगमनसँगै, अझ भन्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि उल्लेखनीय किसिमले वृद्धि भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, सुरक्षित मातृत्व कार्यक्रम, बालसंरक्षण अनुदान, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, राष्ट्रपति महिला उत्थान कार्यक्रम, जनता आवास कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा आदि सामाजिक सुरक्षाका क्षेत्रमा लोकतान्त्रिक प्रणाली प्रारम्भ भएपछि ल्याइएका विशेष कार्यक्रम हुन् । कतिपय कुराबिच राम्ररी सामञ्जस्य र समन्वय हुन नसके पनि कृषि र उद्योगका क्षेत्रमा व्यवस्थित र सङ्गठित प्रगतिका लागि प्रयत्न भइरहेका छन् । यस्तै पर्यटन र सेवा क्षेत्रमा पनि महìवपूर्ण सुधार भइरहेका छन् । यसका साथै आधारभूत सुविधामा जनताको पहुँच पु¥याउने कुरामा विशेष जोड रहेको छ । पक्की सडक, स्वास्थ्य केन्द्र, बजार केन्द्र, सहकारी संस्था आदि आधारभूत सुविधाका क्षेत्रमा २०५२ सालसम्म केवल २४ प्रतिशत जनताले सुविधा पाइरहेकामा अहिले झन्डै ७५ प्रतिशतले यो सुविधा उपभोग गरिरहेका छन् ।
बहुदलीय लोकतन्त्र स्थापनापछिका चुनौतीपूर्ण र असामान्य प्रसङ्ग
माथि उल्लेख गरिएका प्रसङ्ग लोकतन्त्र प्राप्तिपछि भएका सुधार र विभिन्न क्षेत्रमा देखिएका परिवर्तनका केही मोटामोटी दृष्टान्त मात्र हुन् । यी सुधार र परिवर्तनलाई परिस्थितिको सापेक्षतामा हेर्नु पर्छ र बुझ्नु पर्छ । लोकतन्त्र प्राप्त भइसकेपछि पनि मुलुकले अनेक किसिमका असामान्य र जटिल परिस्थितिको सामना गर्नु प¥यो । अर्थात् ‘नर्मल कोर्स’ मा परिस्थिति रहेन । त्यो परिस्थितिको सामना गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण जिम्मेवारी राजनीतिक नेतृत्वका काँधमा थियो । ती क्षणलाई सङ्क्षिप्तमा भए पनि सम्झना गर्नु आवश्यक छ ।
(क) लोकतान्त्रिक बहुदलीय प्रणाली बामे सर्न नपाउँदै
‘जनयुद्ध’ का नाममा २०५२ सालदेखि सुरु गरिएको माओवादी हिंसात्मक मार मुलुकले सहनु प¥यो । यो सिलसिला लगातार १० वर्षसम्म चल्यो । त्यस क्रममा भएका भौतिक र मानवीय क्षतिको लेखाजोखा हुँदै जाला तर त्यसले नेपाली समाजमा पु¥याएको क्षति भने अपूरणीय रहेको छ । लोकतन्त्रका मुना राम्ररी पलाउनसमेत नपाउँदै भोग्नु परेको क्षति साँच्चै अपूरणीय छ । त्यो स्थितिले पनि लोकतन्त्र ‘नर्मल’ अवस्थामा तङ्ग्रिन कठिनाइ भएको कुरालाई बुझ्नुपर्ने हुन्छ ।
सामाजिक सद्भावमा नकारात्मक असर पार्ने गरी भएका गतिविधि
बहुजाति, बहुभाषी, बहुधर्म बहुसंस्कृति, भौगोलिक विविधताको विशेषता भएको हाम्रो मुलुकमा अत्यन्त अस्वस्थकर र राष्ट्रिय हितमा समेत आँच पुग्ने गरी यस्ता गतिविधि सञ्चालन भए । यद्यपि आज आएर ती प्रयत्न र प्रवृत्ति क्रमशः कमजोर र शिथिल बनिरहेका छन् । निष्प्रभावी र जनताबाट समेत अस्वीकृत बनिरहेका छन् तर पनि त्यसले छोडेका नकारात्मक कुराले एउटा महìवपूर्ण समय एक किसिमले खेर गएको छ ।
संविधान जारी गर्ने समयको बाह्य दबाब र नाकाबन्दी
सार्वभौम नेपाली जनताका प्रतिनिधिले भारी बहुमतका साथ बनाएको संविधान सार्वजनिक नगर्न अनुचित, अमर्यादित र अमानवीय तरिकाले नेपालमाथि दबाब र धम्कीस्वरूप दक्षिणको छिमेकीले नाकाबन्दी लगाएको थियो । त्यसले मुलुकमा अगाडि बढिरहेका प्रक्रियासमेत अवरुद्ध बनेका थिए । त्यसबेला राष्ट्रिय भावना एकताबद्ध त बनेको थियो तर नाकाबन्दीका कारण सिङ्गो मुलुकले एक किसिमले अस्तव्यस्तता र असामान्य परिस्थिति सामना गर्नु प¥यो । त्यसले सामान्य अवस्थाबाट अगाडि बढिरहेका कुरा अवरुद्ध बन्न पुगेका थिए ।
महाभूकम्पले पु¥याएको क्षति र पुनर्निर्माणको चुनौती
विसं १९९० को महाभूकम्पपछि अर्को महाभूकम्प थियो, २०७२ साल वैशाखमा गएको महाभूकम्प । त्यसले हजारौँ नेपालीको ज्यान लियो, खर्बौं रुपियाँको भौतिक क्षति पु¥यायो । ऐतिहासिक पुरातात्त्विक महत्वका संरचना क्षतिग्रस्त बने र दीर्घकालीन महत्व राख्ने काम र राष्ट्रियस्तरका योजना अवरुद्ध बन्न पुगे । यस्तो अवस्थामा उद्धार र राहत कार्यका साथै पुनस्र्थापना कार्यमा राज्य र सम्पूर्ण राजनीतिक शक्ति परिचालित हुनु आवश्यक थियो । सामान्य अवस्थामा गरिने र हुने काम अवरुद्ध हुन पुगे । त्यो सङ्कटबाट पार पाउन सरकारका तर्फबाट विशेष संरचना निर्माण गर्दै विशेष अभियान नै सञ्चालन गरिएको थियो ।
कोभिड महामारी, रोकथाम र नियन्त्रणका लागि चालिएका कदम
विश्वव्यापी महामारीका रूपमा देखा परेको कोभिड–१९ ले जनस्तरमै भय र आतङ्क पैदा गरेको थियो । कुनै एउटा मुलुक मात्रै नभएर विश्वव्यापी रूपमै यो आतङ्कले काम गरेको थियो । सम्पूर्ण जनजीवन र गतिविधि असामान्य बनेका थिए । एक किसिमले मानव जाति नै निरीह बन्नु परेको जस्तो अवस्था आइलागेको थियो । राज्यले आफ्ना नियमित कामलाई स्थगित गरेर भए पनि कोभिड महामारीविरुद्ध जुध्नुपर्ने अपरिहार्य अवस्था आइलागेको थियो । केन्द्रीय सरकारबाटै विशेष नीति, विशेष योजना, विशेष संरचना नै निर्माण गरेर सम्पूर्ण शक्ति परिचालन गर्नु परेको थियो । राज्यका काम, केन्द्रका स्रोत र योजना तथा जनशक्ति परिचालनमा सम्पूर्ण रूपमा ध्यान केन्द्रित गर्नु परेको थियो । यसरी यो डरलाग्दो महामारीबाट कमभन्दा कम क्षति पुगोस् भनेर ध्यान केन्द्रित गर्नु परेको थियो ।
नेपालमा ‘नियन्त्रित अस्थिरता’ चाहने बाह्य शक्तिको निरन्तर अस्थिरता उत्पन्न गर्ने खेल
नेपाल संसारका सबैभन्दा ठुला मुलुकका बिचमा अवस्थित मुलुक हो । दक्षिण–पश्चिम र पूर्वतिर एक हजार आठ सय किमी सीमा जोडिएको, संसारको सबैभन्दा धेरै जनसङ्ख्या (एक अर्ब ४५ करोड), नेपालसित सीमा नियमन नगरिएको भारत रहेको छ । उत्तरतिर एक हजार चार सय किमी सीमा जोडिएको, संसारको दोस्रो धेरै जनसङ्ख्या भएको तर प्राकृतिक हिसाबले हिमालको पर्खालले सीमाको काम गरिरहेको चीन छ । हाम्रो नेपाल यी विशाल छिमेकीका बिचमा तीन करोडको हाराहारी जनसङ्ख्या रहेको मुलुकका रूपमा छौँ । यी दुई छिमेकीसितको सम्बन्ध र सम्पर्कलाई हामीले विशेष संवेदनशीलता र योग्यतापूर्वक सञ्चालन गर्नुपर्ने आवश्यकता छ । हाम्रो राष्ट्रियता, स्वाभिमान, स्वाधीनता, अखण्डताको रक्षा र प्राप्त गरिएको लोकतन्त्र रक्षाका लागि यस कुरामा विशेष ध्यान पु¥याउनै पर्छ । लोकतन्त्र स्थापनापछि पनि पटक पटक अस्थिरता पैदा गराउने प्रयत्न भएका छन् र गरिएका छन् । त्यसका कारण नेपालमा लोकतन्त्र प्राप्तिपछि पनि अस्थिरताका धक्का सहनु परेको छ र राजनीतिक अस्थिरता र त्यसैको जगमा स्वाभाविक विकास र सुशासनमा समेत समस्या पैदा हुने गरेका छन् । यो कुराले पनि लोकतन्त्रमा प्राप्त हुने उपलब्धि स्वाभाविक रूपमा अगाडि बढ्ने र बढाउने कुरामा समस्या देखिन पुगेका छन् ।
अब हिँड्नुपर्ने बाटो– चुनौतीलाई चिन्नुपर्ने आवश्यकता
सङ्घर्ष गर्दै र चुनौतीको सामना गर्दै हामी यो ठाउँसम्म आइपुगेका छौँ । महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । नयाँ नयाँ चुनौती पनि देखा परिरहेका छन् । देखा परेका चुनौतीलाई सामना गर्न नयाँ सामथ्र्य आर्जन गर्नुपर्ने आवश्यकता छ । विगतमा प्रदर्शन गरिएका योग्यता र क्षमताले पुग्दैन, ती त प्रेरणादायी प्रसङ्ग बन्न सक्छन् तर वर्तमानमा मार्गदर्शन हुन सक्दैनन् । अहिले देखा परेका समस्यालाई ठिकसँग चिह्नित गर्नु र तिनलाई स्पष्ट दृष्टिकोणसहित योग्यतापूर्वक समाधान गर्न आवश्यक छ ।
(क) लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुन सक्छ । यसको विकल्पमा अनिर्वाचित वा वंश परम्परामा आधारित शासनसत्ता हुन सक्दैन । यससम्बन्धी कुनै पनि किसिमको भ्रममा पर्नु हुन्न । लोकतान्त्रिक अभ्यासभित्र कुनै समस्या देखिए लोकतान्त्रिक विधिद्वारा नै समाधान खोजिनु पर्छ ।
(ख) लोकतान्त्रिक प्रणाली अन्तर्गत हुने र गरिने अभ्यासलाई पनि द्वन्द्वात्मक तरिकाले बुझ्नु पर्छ । यसका सबल कुरा छन् तर अभ्यासका क्रममा कमजोरी पनि देखा परेका हुन्छन् । तिनलाई सच्याउँदै र सुधार गर्दै जानुपर्ने हुन्छ । यसरी नै लोकतन्त्र क्रमशः सबल बन्दै जान्छ । लोकतन्त्र लोकतान्त्रिक अभ्यासकै क्रममा आफूलाई थप सबल र सुदृढ बनाउँदै अगाडि बढ्छ । यसरी अभ्यासका क्रममा लोकतन्त्र झन् झन् सबल र सुन्दर बन्दै जान्छ । निरन्तरको यही अभियानमा लागिरहनु सच्चा लोकतन्त्रवादीको कर्तव्य हो । (ग) लोकतन्त्रको पक्षपोषण गरिरहँदा हामीहरू कहिल्यै पनि अनिर्वाचित र वंश परम्परामा आधारित शासनसत्तालाई स्वीकार गर्दैनौँ र गर्न सक्दैनौँ भन्नु नै हो । इतिहासका कतिपय प्रसङ्ग (कतिपय प्रसङ्गलाई अपव्याख्या गरेर) तिनै कुराबाट निर्देशित हुन खोज्दै आह्वान गरिएका कुरालाई स्वीकार गर्न सकिँदैन ।
(घ) लोकतान्त्रिक अभ्यासका क्रममा देखा परेका समस्याका कारण लोकतन्त्र नै खराब हो भन्ने भाष्य खडा गर्न चाहने कुरालाई स्वीकार गर्न सकिँदैन । यही पृष्ठभूमिमा लोकतन्त्रको विकल्पमा लोकप्रियतावाद, गैरदलीय आवरणमा (स्वतन्त्रको नाममा) आउने कथित नयाँ पार्टीका नाममा देखा पर्न कोसिस गरिरहेकाका कुनै पनि भ्रममा पर्नु हुँदैन । त्यस्ता प्रवृत्ति र गतिविधिको सशक्त विरोध र प्रतिवाद गरिनु पर्छ । यस्ता कुराप्रति उदारता वा सहिष्णुता देखाउनु हुन्न । त्यस्ता कुराको सशक्त विरोध र प्रतिवाद गरिनु पर्छ ।
(ङ) लोकतान्त्रिक आन्दोलनमा कसलाई नयाँ भन्ने, कसलाई पुराना भन्नेहरू जुन राजनीतिक विचार तथा पार्टीको गौरवशाली इतिहास छ, जोसित भविष्यको स्पष्ट मार्गचित्र छ र जोसित वर्तमानमा सङ्गठनात्मक सामथ्र्य र ठोस कार्यक्रम हुन्छ, त्यो कहिल्यै पनि पुरानो पार्टी हुन सक्तैन; त्यसले त गतिशीलतामा आफ्नो नयाँ जीवनलाई अगाडि बढाइरहेको हुन्छ । आज नयाँ भन्नेहरूसित न गौरवशाली इतिहास छ, न भविष्यको सुस्पष्ट मार्गचित्र छ । न ठोस कार्यक्रम र सङ्गठनात्मक सामथ्र्य छ । यस आधारमा नयाँ वा पुरानो भनेर बुझ्न सकिन्छ । आज आफूलाई नयाँ भन्नेहरू लोकप्रियतावादमा विश्वास गर्नेले स्वाभाविक रूपमा देखा परेका कमजोरी वा केही समस्यालाई देखाएर असन्तुष्टिमा आगो सल्काएर अराजकतालाई प्रोत्साहन गर्न चाहिरहेका छन् । त्यस्ता प्रवृत्ति र पात्रको विरोध र प्रतिवाद गरिनु पर्छ । यसरी मात्र लोकतन्त्रलाई सबल र सुदृढ बनाउँदै अगाडि बढ्न सकिन्छ ।
(च) लोकतान्त्रिक शासनप्रणाली, लोकतन्त्रका पक्षधरले जनतासितको सम्बन्धलाई प्रगाढ बनाउने, जनताको चाहना अनुसार चल्ने, पारदर्शी व्यवहार गर्ने, जनतालाई सुशासन दिने, सामाजिक सचेतनाका लागि सधैँ अगुवाको भूमिका खेल्ने काम गर्नु पर्छ । सबै लोकतन्त्रका पक्षधर जनताको निगरानीमा रहनु पर्छ ।
आज नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रविरोधीका सबै हत्कण्डाको विरोध र भण्डाफोर गर्दै अगाडि बढ्नु आवश्यक छ ।