एक सय चार बर्से लामो निरङ्कुश राणा शासन अन्त्य गर्दै सहिदहरूको बलिदानीबाट प्राप्त प्रजातन्त्रको दियो विसं २०१७ मै एक दशकमा निभ्दा नेपाली जनता नराम्रोसँग पिल्सिन बाध्य भए । पञ्चायती व्यवस्थाको सुरुवातसँगै राजा महेन्द्रले देशमा निरङ्कुश एकदलीय तानाशाही व्यवस्थाको सूत्रपात गरे । पञ्चायती व्यवस्थामा जनताका समस्या समाधान गर्ने कुरा त परै जाओस्; स्वतन्त्रपूर्वक लेख्न, बोल्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने काम गरियो ।
पञ्चायती शासनभित्र जनताले राजनीतिक अधिकार मात्र होइन, भाषिक र सांस्कृतिक अधिकारको समेत उपभोग गर्न पाएनन् । एक भाषा, एक धर्म र संस्कृति मान्न जनतालाई बाध्य पारियो । महिला, दलित, जनजाति, मुस्लिम पछाडि पारिएका समुदाय र लिङ्गको अधिकारको कुरै भएन । सामन्ती संस्कार, संस्कृति र निरङ्कुशतन्त्रले आमजनतालाई रैतीबाहेक केही ठानेन । जात प्रथामा विभक्त गरिएको नेपाली समाज एक जातिले अर्को जातिलाई प्रताडित गर्ने खालको बन्न पुग्यो । त्यसबाट भन्न सकिन्छ, तत्कालीन भुरे टाकुरे राजाका अवशेषका रूपमा बाँचेका पञ्चले जनताको हुर्मत लिने कामबाहेक केही गरेनन् । त्यसपछि जनतामा एउटा आक्रोश बढ्दै गयो । त्यसलाई दबाउन शासकले अनेकन काण्ड अपनाउन थाले । ती अनेकौँ षड्यन्त्र र जालझेलबाट टिक्न नसकेपछि पञ्चायती व्यवस्था कमजोर हुँदै गयो । अन्त्यमा जनता सडकमा उर्लिएर २०४६ सालको जनआन्दोलनको आँधीबेहरीले पञ्चायती व्यवस्थालाई सदाका लागि बिदा ग¥यो ।
हामी राजतन्त्रको समूल नष्ट नहुँदासम्म जनताको भलो हुँदैन भन्नेमा पहिलेदेखि नै प्रस्ट थियौँ । त्यतिबेलाको आन्दोलनमा म सहभागी थिएँ । हामीले राजतन्त्र होइन, गणतन्त्र स्थापना गर्नु पर्छ भनेर चर्को आवाज उठाएका थियौँ । हाम्रो असहमतिका बिच सामन्ती राजतन्त्रलाई काँधमा राखेर बहुदलीय व्यवस्था घोषणा गरियो । राजनीतिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रतालगायत तमाम स्वतन्त्रताको ग्यारेन्टी गरिए पनि त्यसभित्र संवैधानिक राजतन्त्रलाई स्वीकार गरियो । स्वतन्त्रताको कुरालाई केही हदसम्म अगाडि सारिए पनि विविध जातजाति, भाषा, संस्कृतिको प्रतिनिधित्वको सन्दर्भ त्यसलाई फक्रन, फुल्न, संरक्षण र प्रवर्धन गर्न शिरमा राजा नै रहने सामन्ती संस्कृति र परम्पराबाट अवस्था फेरिने कुरा थिएन ।
वास्तवमा जनता सार्वभौम भइसकेका थिएनन् । जनतामाथि फेरि बहुदलका नाममा उस्तै खालको दमन प्रारम्भ हुने देखियो । यही पृष्ठभूमिमा ४८ बुँदे मागपत्र राखेर जनमोर्चाको नामबाट वर्तमान माओवादी पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले व्यवस्थाको सुधारको माग गरेको थियो । उक्त माग लिएर सिंहदरबार जाँदै गर्दा गेट बन्द गरेर मागपत्रसमेत बुझ्न तयार नभएको तत्कालीन सरकारविरुद्ध टुँडिखेलमा आमसभा गर्दै ती माग सार्वजनिक गरिएको थियो । बहुदलीय व्यवस्थालाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नेतर्फ नभएर सरकारले जनताका मागलाई लत्यायो ।
गणतन्त्रको बीजारोपण
हामीले राखेका मागलाई तत्कालीन सरकारले वास्ता नगरेपछि विद्रोहमा होमिन बाध्य भयौँ । नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले नेतृत्व गरेर विद्रोहमा जाने घोषणा भयो । जनताको आफ्नै सेना निर्माण गर्नेदेखि आफ्नै सत्ता निर्माण गर्दै देशको ८० प्रतिशत भूभागसम्म कब्जा गर्न सफल भयौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको आडमा तत्कालीन सरकार हामीमाथि दमनमा उत्रियो । पार्टीको नेतृत्वमा जनता लामबद्ध भएपछि पार्टीको आफ्नै सत्ता, सेना, अदालत र आफ्नै उत्पादन गर्न कम्युनहरू खडा गर्न सफल भयौँ । लाखौँ जनता पुरानो सत्तातिर होइन, हामीले खडा गरेको जनसत्तातिर विश्वास गर्दै आकर्षित हुन थाले । हामीले दिने न्याय र स्वतन्त्रतालाई जनताले साथ दिन थाले । समाजमा हुने थुप्रै प्रकारका विभेदविरुद्ध महिला, दलित, जनजाति र उत्पीडित क्षेत्रका समुदायले हामीलाई साथ दिन थाले । देशमा भएको भ्रष्टाचार, विकृति, विसङ्गति र कुसंस्कारविरुद्ध अभियान नै चलाएर समाजलाई जागरुक बनाइयो ।
विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशविनाश भयो । हामीले नक्कली राजासँग कुनै हालतमा सम्झौता हुँदैन भनेर आफ्ना कारबाही अघि बढाउँदै लग्यौँ । पूर्वराजा ज्ञानेन्द्रले एकपछि अर्को कदम चाल्दै शक्ति हातमा लिँदै गएपछि नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका पार्टीका नेता जेल र नजरबन्दमा पर्न थाले । राजतन्त्र फेरि निरङ्कुशतन्त्रका रूपमा देखा पर्न थालेपछि संसद्वादी दल र माओवादीबिच वार्ता प्रारम्भ भयो । वार्तामा माओवादीले उठाएका वर्गीय जातीय, लैङ्गिक, भाषिक, भौगोलिकलगायतका विभेद अन्त्य गरी एउटा समतामूलक समाज निर्माण गर्ने उद्देश्यमा आधारित भएर प्रारम्भ गरेको विद्रोह र जनआन्दोलनलाई जोड्नुपर्ने आवश्यकता महसुस भई पार्टीबिच १२ बुँदे सहमतिको स्वरूप तयार भयो । माओवादी र सात राजनीतिक दलबिच १२ बुँदे सहमतिपछि पञ्चायत हुँदै बहुदलीय प्रजातन्त्रमा समेत निरङ्कुशताका रूपमा प्रकट भएको राजतन्त्रविरुद्ध जनता सडकमा उत्रिए । संसद्वादी दलहरूले काठमाडौँभित्रको नेतृत्व गरे । माओवादीले ग्रामीण क्षेत्रबाट जनतालाई उतारेर २०६२/६३ सालको जनआन्दोलन एउटा उत्कर्षमा पुग्न सफल भयो ।
सडकबाट जनताले राजतन्त्र अन्त्य गरेपछि लामो सङ्घर्षपश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण भयो । संविधान निर्माण गर्ने क्रममा दलहरूबिच केही कुरामा मतभेद भएकाले ढिलाइ भयो । पहिलो संविधान सभाबाट संविधान बन्ने अवस्था भएको भए अझ अग्रगामी संविधान बन्ने थियो; जसबाट जनताले धेरै अधिकार प्राप्त गर्ने थिए । दोस्रो संविधान सभा निर्वाचनपछि माओवादी कमजोर भयो भने पुराना संसद्वादी दल बलिया भए । हामीले संविधानका धेरै अन्तरवस्तुमा ‘नोट अफ डिसेन्ट’ लेखेर संविधान घोषणा गर्न सहमत भयौँ । अहिले संविधान संशोधनको कुरा उठेको छ । त्यसमा जनतालाई अधिकार दिने गरी अग्रगामी तरिकाले संशोधन हुनुपर्ने कुरा पार्टीले उठाएको छ । सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्न पार्टीका शीर्ष नेता, कार्यकर्ता, कलाकारलगायत सहिद हुनुभएको छ । हामीले सोचेको सुनौलो जनगणतन्त्र ल्याउन नसके पनि सामन्ती राजतन्त्र अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएका छौँ । सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएकाको योगदानले मुलुक समाजवादतिर जाने ढोका खोल्दै छ । त्यसैले यो व्यवस्था र संविधानप्रति माओवादीलाई धेरै माया छ । यो व्यवस्थामाथि धावा बोल्दा माओवादी नै अघि सरेर प्रतिवादसमेत गर्दै आएको छ ।
सङ्घर्षबाट उपलब्धि
संविधानमा केही नभएको भने होइन । संविधानमा रहेका समाजवादउन्मुख अर्थतन्त्रका साथै बहुभाषा, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गरिएको छ । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्न सङ्कल्प गर्ने उल्लेख गरिएको छ । संविधानको प्रस्तावनामा समाजवादउन्मुख संविधान जारी भएकाले समाजवादको ढोका खोलेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सम्प्रभुतालगायत थुप्रै अधिकार र छुवाछुत, महिला हिंसा, लैङ्गिक हिंसालगायत सामाजिक न्यायका जनअधिकारलाई स्थापित गर्दै जनतालाई रैतीबाट नागरिकका रूपमा सम्मान गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ । पहिलो पटक जनता सार्वभौम भएका छन् । राजामा निहित सार्वभौमसत्ता जनताको हातमा आएको छ । गणतन्त्रसँगै सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी अधिकार प्राप्त भएका छन् । दलित, महिला, जनजाति, मुस्लिम पछाडि पारिएका समुदाय राज्यका हरेक निकायमा पुगेका छन् ।
सङ्घीय लोकतान्त्रिक समावेशी गणतन्त्रका रूपमा यसलाई हामीले अभिव्यक्त गरेका छौँ । यो आआफैँमा एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । उत्पीडित वर्ग, पछि परेका जाति र महिलालाई सङ्गठित गर्दै आफ्नो अधिकार प्राप्त गर्न सक्ने क्षमतामा विकास हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यही जनचेतना, सङ्गठित शक्ति र जनताको बलका कारण विद्रोहलाई जनआन्दोलनसँग समायोजन गर्दै यति उपलब्धि भए । विद्रोह एउटा ऐतिहासिक विद्रोह भएकाले लाखौँ जनताको साथबाट वास्तविक रूपमा पछि परेका वर्ग, जाति, क्षेत्र र लिङ्गको एउटा सामूहिक विद्रोह भयो । यो विद्रोहका लागि नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने अवसर पाउनुभयो । उहाँले वैचारिक, राजनीतिक, सङ्गठनात्मक र फौजी क्षेत्रबाट जनताको नेतृत्व गर्दै परिवर्तनलाई यो उचाइमा पु¥याउनुभएको सबैमा जगजाहेर छ । ठुलो त्याग, बलिदान, हजारौँ सहिद, बेपत्ता, घाइते, जनताको ठुलो समर्पण र नेतृत्वको कुशलता र राजनीतिक सुझबुझका कारण यो उपलब्धि हासिल भएको हो । जनताको घरदैलोमा अधिकारसहित स्थानीय तह पुगेको छ । संविधानमा जनताका धेरै अधिकार मौलिक हकका रूपमा प्राप्त भएका छन् । यद्यपि धेरै मौलिक हक कानुन बनाएर कार्यान्वयन गर्न बाँकी नै छ । देश विकासको सन्दर्भमा पूर्वाधार विद्युतीकरण, मानव सूचकाङ्क, प्रतिव्यक्ति आय, औसत आयु, बालमृत्युदर, महिला प्रजनन स्वास्थ्यलगायतका दृष्टिकोणले थुप्रै प्रगति भएका छन् । सबै जातजाति, धर्म, भूगोल, क्षेत्र वर्ग समेटिएका छन् । यद्यपि जुन गतिमा संविधान कार्यान्वयन हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । संविधानबमोजिम ऐन कानुन बन्न, जनताले आफ्नो अधिकार उपभोग गर्न र जनजीविकाका सवालमा आधारभूत शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा संविधान अनुरूप त्यसको प्रतिफल पाउनुपथ्र्यो त्यो पाउन सकिरहेका छैनन् । त्यसको मूल कारण संविधान अनुरूपको राज्य संरचनाको पुनर्संरचना हुन नसक्नु हो । यसै गरी राजनीतिक स्थिरता कायम हुन नसक्नु, सत्ताकेन्द्रित राजनीति हुनु, अपारदर्शिता र विकासले रफ्तार समात्न नसक्दा आज जनतामा फेरि एक खालको असन्तुष्टि देखा परेको छ ।
सामाजिक न्यायको कुरा गरिए पनि समाजले अझै विभेद खेपिरहेको छ । त्यसका लागि सम्पूर्ण राजनीतिक दल र नेतृत्वले आत्मसात् गरेर सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको महाअभियानमा लाग्नुपर्ने देखिएको छ । पछिल्लो समय सूचना प्रविधिको सदुपयोग गर्दै ज्ञानविज्ञान प्रविधिको प्रयोग गरेर शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार क्षेत्रमा जनतालाई सहज सेवा प्रदान गर्न सकिन्छ । जल, जङ्गल, जडीबुटीलगायत प्राकृतिक स्रोतलाई भरपूर उपयोग गरेर देशमा समृद्धि हासिल गर्न सकिन्छ ।
सुझाव र निष्कर्ष
पछिल्ला सरकारबाट जसरी जनताले अपेक्षा गरेका थिए, त्यसरी काम गर्न नसक्दा असन्तुष्टि बढ्दै जानु स्वाभाविक हो । यद्यपि पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेर जनतामा आशा भर्ने काम गरेको थियो । संसदीय अङ्कगणितमा कमजोर भएकाले छोटो समयमै सत्ताबाट बाहिरिनुपर्दा जनतामा निराशा बढ्दै गयो ।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक पार्टीले आफूलाई सुधार गर्ने र आफू सच्चिएर सुध्रिनुका साथै जनताको निगरानीमा पारदर्शी चरित्र र व्यवहार देखाउनु आजको मुख्य आवश्यकता हो । राजावादीले फेरि जनतालाई रैती, दास बनाउने कल्पना गर्न प्रयत्न गर्दै छन् । राजा फर्काउँछु भन्नु दिवासपना मात्रै हो । इतिहासको पाङ्ग्रालाई उल्टो दिशातिर घुमाउने प्रयास कसैले गर्नु हुँदैन । राजावादी कति उद्दण्ड हुन्छन् भन्ने केही समयअघि भएको तीनकुने घटनाले समेत धेरै जनतालाई बुझ्ने अवसर मिलेको छ । नयाँ पुस्ताले राजतन्त्रका बारेमा भोग्ने अवसर नपाएकाले त्यो बुझ्ने अवसरसमेत भएको छ ।
सबै सचेत राजनीतिक दल र नेतृत्वले अग्रगमनतिर जनतालाई लैजाने सोच्नु पर्छ । बरु अझ उन्नत लोकतान्त्रिक व्यवस्थासहितको समाजवादतिर जान सबै राजनीतिकर्मीले सोच्नु पर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र सबै राजनीतिक दलले भविष्य खोजेर जनताको उन्नति, विकास र समृद्धिको सपनालाई साकार पार्न प्रयत्न गर्नु पर्छ । अन्त्यमा गोरखापत्र नेपालको मात्र होइन, दक्षिण एसियाकै पुरानो पत्रिका हो । पछिल्लो समयमा गोरखापत्रले ४५ भाषामा विभिन्न भाषाभाषीलाई प्राथमिकता दिएर समाचार र विचार समेटेको देख्दा खुसी लागेको छ । शान्ति प्रव्रिmयामा आएपछि यी विविध भाषालाई समेट्ने अवधारणा हामीले अघि सारेका हौँ । यसले गर्दा सबै भाषाभाषीले अपनत्व महसुससमेत गरेको रूपमा बुझेको छु । विविध उतारचढावपूर्ण समय पार गर्दै १२४ वर्ष लामो यात्रा पार गरेको गोरखापत्र राष्ट्रिय दैनिकको उत्तरोत्तर प्रगतिको कामनासहित सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मासँग गोरखापत्र दैनिकका वीरेन्द्र ओलीले गर्नुभएको कुराकानीमा आधारित)