• १४ असार २०८१, शुक्रबार

स्थानीयवासीको अवरोधका कारण हुन सकेन फोहोर व्यवस्थापन

blog

काठमाडौं, जेठ २५ गते। स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन।  

गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि आज पनि फोहोर व्यवस्थापन हुन नसकेको हो। 

सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहोर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ। मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन्। 

त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताउनुभयो।   

केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै  जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहोर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्।  

सत्र वर्षअघि दुई वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको थियो। अहिले सिसडोलमा फोहोर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहोर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ।  

उक्त दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम पूर्णरूपमा सम्पन्न नभइसकेको भए पनि पहिलो सेलको काम सकिएकाले फोहोर व्यवस्थापन गर्न थालिएको हो। 

विगत ११ दिनदेखि उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ भने आवतजावत गर्नसमेत समस्या भइसकेको छ।