• २२ वैशाख २०८२, सोमबार

करेन्ट लागेर मृत्युपछि बिजुली र सडक बन्द

blog

अत्तरिया कालिकोट बिद्युतलाईन विस्तार गरिँदै । तस्बिर: प्रेमराज

प्रेमराज सिम्खडा

कालिकोट। वैशाख २२ गते । करेन्ट लागेर एक ब्याक्तिकाे मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग सहित विँद्युत् सेवा बन्द गरेका छन् । आइतबार दिउसो घाँस काट्न गएका दैलेखेको आठबिस नगरपालिका राकम निवासी वर्ष २९ का नगेन्द्रवहादुर माझिको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयले बिद्युत् कार्यालयको लापरबाही भन्दै विद्युत् र सडक दुवै अवरुद्ध पारेका छन् । 

कार्यालयको लापरबाहीले करेन्ट लागेको स्थानीयको भनाइ छ । हिजोबाट बिद्युत् र आज बिहानैबाट कर्णाली राजमार्ग समेत अवरोध पारेर आन्दोलन गरिरहेका छन् । सडकमा टायर बालेका छन् भने बिद्युत् कार्यालय विरुद्ध नाराबाजी गरिरहेका छन् । स्थानीय सुरेन्द्र कार्कीका अनुसार प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो । पूरै गाउँका मान्छे सडकमा छन् । सडक खुलाउने प्रयास सफल हुने सम्भावना छैन कार्कीले भन्नुभयो ।

विद्युत् नहुँदा हिजो रातीदेखि राकम यताका कालिकोट, जुम्ला, मुगुका नागरिकले उज्यालो पाएका छैनन् । विद्युत् अवरोधका कारण कालिकोटका सरकारी कार्यालयको कामकाज रोकिएको छ । खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख धुर्वराज बरालले विद्युत् नभएकाले हिजोबाटै काम प्रभावित भएको बताउनुभयो । कृषकसँग सम्झौताको काम थियो । बत्ती हिजैबाट आएको छैन । सबै काम प्रभावित भएको प्रमुख बरालको भनाई छ । 

जिल्लाका एफएम रेडियो समेत बन्द भएका छन् । विद्युतकाे अर्को विकल्प नभएका कारणले सामुदायिक रेडियो बन्द गर्नुपरेको रेडियोका सञ्चालकको भनाइ छ । सोलारले दुई घण्टा काम गर्छ अन्य समय विद्युत् नहुँदा बन्द गर्नु परेको रेडियो प्रदेश आवाजका सञ्चालक समिति अध्यक्ष रत्नबहादुर काकीले गुनासो गर्नुभयो । करेन्ट लागेर मृत्यु भएका व्यक्तिले पाउने सेवा सुविधा आन्दोलन गरेपछि मात्र उपलब्ध गराउने कार्यालयको बानी भएकाले पनि स्थानीय केही हुँदा आन्दोलन, अवरोध र सडक जाममा लाग्ने गरेको कार्कीको भना छ । 

आन्दोलनका कारणले कर्णाली राजमार्ग बन्द हुँदा आउजाउ गर्नेहरूलाई थप समस्या भएको छ । बिहानै सुर्खेत तर्फ जानु भएका रास्कोट ९ का अम्मरराज बरालले सडक खुल्ने नखुल्ने कुनै अत्तोपत्तो नभएको बताउनुभयो । प्रहरीले कुरा गरिरहेको छ । पीडित पक्षले क्षतिपूर्तिको माग गरिरहेकाले सहमति नहुँदा सडक पूर्ण रुपमा बन्द भएको बरालले सुनाउनुभयो । विद्युत् कार्यालय कालिकोटका प्राविधिक जयप्रसाद पाण्डेले हिजो रातीबाट पीडित पक्षसँग संवाद जारी रहेको जानकारी दिनुभयो । 

संवाद चलिरहेको छ । क्षतिपूर्तिका विषयमा दिन मिल्ने कुरामा केही समस्या भएन । तर अलि बडी क्षतिपूर्तिको माग गरेकाले कुरा नमिलेको आफूले जानकारी पाएको बताउनुभयो । आफू काठमाण्डौमा भएकाले कार्यालयसँगै पीडित पक्षसँग फोनमै कुरा चलिरहेको पाण्डेले बताउनुभयो । आफ्नो साइट भएकाले फोनबाटै समन्वय गरेर प्रहरी मुचुल्कादेखि केही काम भए पनि सहमति गराउन भने नसकिएको पाण्डेको भनाइ छ ।