• १४ असार २०८१, शुक्रबार

काठमाडौं महानगर प्रमुख र फ्रान्सका राजदूतबीच शिष्टाचार भेट

blog

काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र फ्रान्सेली राजदूत जील बुर्वाओबीच बुधबार शिष्टाचार भेट भएको छ। प्रमुखको कार्यकक्षमा उहाँहरुबीच मुख्यगरी, नगर व्यवस्थापनका लागि सेवा, सुविधा वितरणका विषयमा छलफल भयो।

बजेट नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु हुँदै साहले फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै शहरी यातायातको सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। “सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यको कार्यक्रम तय गर्ने प्रणालीको विकास गर्दैछौं”, उहाँले भन्नुभयो।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा महानगरसँग सहकार्य हुनसक्ने बताउनुभयो। क्रममा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो। 

उहाँले फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा सहयोग हुनसक्ने आश्वासनसमेत दिनुभएको छ।